दुई तिहाईको बलमा संविधान सभाको म्याद थपे गम्भीर दुर्घटना निम्तिने पूर्व प्रधान मन्त्री माधवकुमार नेपालको भनाई

– खिलानाथ ढकाल

 

विराटनगर  – एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधान मन्त्री माधवकुमार नेपालले दुई तिहाईको बलमा संविधान सभाको म्याद थपे गम्भीर दुर्घटना निम्तिने बताएका छन्। नेपालले प्रधान मन्त्री खनालले दुई तिहाई बहुमत जुटाएर म्याद थप्न खोजिरहेको भन्दै त्यसो गरिए दुर्घटना हुने बताएका हुन्।

 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन।

कङ्ग्रेस, मधेसवादीलगायत् अन्य साना दलको समेत सहमतिमा संविधान सभाको म्याद थप्न सकिने तर्क गर्दै पूर्व प्रधान मन्त्री नेपालले दुई तिहाईको विकल्प खोज्न आग्रह गरे। ‘सबैको सहमतिमा नगई दुई तिहाई रोजे दुर्घटना निम्तिने छ’- नेपालले भने।

अहिलेको सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको नेपालले बताए। तर यो समय सरकारको विकल्प खोज्ने बेला नभएको उनको भनाइ छ। ‘अहिले सरकारको विकल्प खोज्नुभन्दा पनि शान्ति र संविधानतिर केन्द्रित हुने बेला हो’- उनले थपे।