राजधानीमा खानेपानी आपूर्ति गर्न सुरु गरिएको मेलम्ची आयोजनाको सुरुङ निर्माणको तोकिएको म्यादमा 2 वर्ष थप्न ठेकेदार कम्पनीले आयोजनासँग आग्रह गरेको छ ।
बन्द, हडताल, राजनीतिक खिचातानी र स्थानीय समस्या देखाउँदै ठेकेदार चिनियाँ कम्पनीले सुरुङ पूरा गर्ने अवधि सन् 2013 बाट बढाएर 2015 सम्म पुर्याउन परामर्शदातामार्फत आयोजनासँग आग्रह गरेको हो । चाइना रेलवे कम्पनी 15 ब्युरोले 4 वर्षमा पूरा गर्ने सर्तमा 2009 अप्रिल 21 मा साइड जिम्मा लिएको थियो । बितेका 22 महिनामा 1 हजार 9 सय मिटर सुरुङ निर्माण गरेको कम्पनीले म्याद बढाउने प्रस्ताव ल्याएको हो । सुरुङ निर्माण जुन गतिमा हुनुपर्ने हो त्यो देखिएको छैन, आयोजनाका कार्यकारी निर्देशक हरिप्रसाद शर्माले भने । जटिल अवस्थाबाहेक सकभर म्याद थप्ने पक्षमा छैनौं, उनले भने ।
आयोजनाको ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलबाट सुरुङ निर्माण भइरहेको छ ।
ठेकेदारले स्थानीयले आयोजनाको कार्यालय मेलम्चीमा 2066 साउनदेखि 7 महिना ताला लगाएको, कारणलाई आधार बनाएर थप्न दबाब दिएको छ ।



