काठमाडौ – संविधानसभाको म्याद तीन दिन मात्र बाँकी हुँदा सहमति खोज्ने
प्रयासका लागि नेताहरुले फेरी एकान्त होटल रोजेका छन् । माओवादी, काँग्रेस र एमाले
शीर्ष नेताहरु बीच गोकर्ण रिसोर्टमा छलफल जारी छ ।
तीन दलका शीर्ष नेताहरु वार्ता गर्नका लागि राजधानीको उत्तरपश्चिममा रहेको
सुविधासम्पन्न गोकर्ण गल्फ रिसोर्ट गएका हुन् । मंगलबारदेखि दुई पक्षीय र
त्रिपक्षीय वार्ता थालेका दलका नेताहरु बुधबार बिहान गोकर्ण रिसोर्ट तर्फ लागेका
थिए ।
रिसोर्टमा सुरुमा माओवादी र एमाले शीर्ष नेताहरु बीच छलफल भएपछि माओवादी,
काँग्रेस र एमालेका शीर्ष नेताहरु सम्मिलित बैठक सुरु भएको हो ।
काँग्रेस आफुले अघि सारेको १० बुँदामा सहमति नभएसम्म संविधानसभाको म्याद नथप्ने
अडान राखेपछि नेताहरु दुई पक्षीय र बहुपक्षीय बार्तामा लागेका हुन् ।



