काठमाडौं – एकीकृत नेकपा माओवादीभित्रको अन्तरसंघर्षको प्रभाव महिला सभासदहरूमा पनि परेको छ । उपाध्यक्ष मोहन वैद्य पक्षकी नेतृ जयपुरी घर्तीले ३३ प्रतिशत पहिला सरकारमा सहभागी गराउनुपर्ने माग राखी मन्त्रीको शपथ नलिएपछि अन्तरसंघर्षको प्रभाव महिला सभासदमा पनि देखिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षका ३२ महिला सभासदले संयुक्त हस्ताक्षर गरी ‘केही व्यक्तिका स्वार्थ र समूह विशेषको समर्थन सहानुभूति र समर्थन लिने ढंगले’ गरिएको प्रचार भन्दै असहमति जनाएका छन् । ‘अमूक व्यक्तिको स्वार्थमा रहँदा महिला समानताका विषय ओझेलमा पर्ने र तिनको स्वार्थ पूरा नहुँदा महिला समानताका विषयहरू कुनै व्यक्ति र गुटका निजी नारा बन्नुपर्ने कुराले सिंगो महिला मुक्ति आन्दोलनमा फाइदा गर्दैन र गरेको छैन,’ संस्थापन पक्षधर महिला सभासदद्वारा वैद्य पक्षका महिलातर्फ संकेत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘यी अमूक व्यक्तिका स्वार्थ र समूह विशेषको सहानुभूति र समर्थन लिने ढंगले गरिएको क्रियाकलापप्रति हामी असहमत छौं ।’
ती महिला सभादहरूले ‘पार्टीभित्रको संघर्षलाई अवाञ्छनीय ढंगले बाहिर ल्याई राजनीतिलाई गलत ढंगल भजाएको’ आरोपसमेत लगाएका छन् ।
उनीहरूले अन्तरिम संविधान २०६३ अनुसार सरकारमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न पनि माग गरेका छन् । विज्ञप्तिमा उपाध्यक्ष बाबुराम भट्टराई पक्षका महिला सभासदको हस्ताक्षर छैन । हस्ताक्षर गर्नेहरूमा ओनसरी घर्ती, कमला रोका, धर्मशिला चापागाईं, सत्य पहाडी, रेणु चन्द, जुनकुमारी रोका, सुषमा शर्मा घिमिरेलगायत ३२ जना छन् ।



