संविधानसभाको म्याद थप्नका लागि गरिएको पाँचबुँदे सहमतिको कार्यान्वयन भएमा तीन महिनाभित्र संविधान लेखन कार्य पूरा हुने एमाले माधवकुमार नेपालको भनाइ

Nepals leaders agree to extend parliament: ...

काठमाडौँ  – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थप्नका लागि गरिएको पाँचबुँदे सहमतिको कार्यान्वयन भएमा तीन महिनाभित्र संविधान लेखन कार्य पूरा हुने बताएका छन्। उनले लडाकु व्यवस्थापनमा एमाओवादी इमान्दार हुनुपर्नेमा जोड दिए।

स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालले आयोजना गरेको स्ववियु काउन्सिल कप अन्तर क्याम्पसस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता-२०६८ को उद्घाटन गर्दै उनले संविधानसभाको म्याद थपका लागि भएको सहमतिको सबै दलहरुले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

एमाओवादी लडाकू तीन महिनाभित्र व्यवस्थापन गर्नका लागि एमाओवादीले इमान्दारी देखाउनुपर्ने उल्लेख गर्दै नेता नेपालले शान्तिप्रक्रिया र संविधान लेखनका दुवै विषयलाई तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने भएकाले सबै दलले गम्भीरतापूर्वक प्रतिबद्ध भएर सोच्नुपर्ने जरुरी छ भने।

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि राजनीतिक दलहरुबीच सहमति भएबमोजिम प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण कोषका अध्यक्ष गंगा थापा, भलिबल प्रतियोगिताका संयोजक एकराज सुनार र काउन्सिलका अध्यक्ष महेश गर्तौलाले विद्यार्थी सङ्गठनहरुले बेलाबेलामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने विचार राखे।- रासस