पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरुले पाण्डेले छलफलका लागि महासचिवलाई बुझाएको ११ बुँदे प्रस्तावप्रति चर्को आलोचना गरेपछि उनी आत्मालोचना गर्न बाध्य भएका थिए । ‘आशंकाको भरमा प्रस्ताव लेखेको थिएँ,’ पाण्डेको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्यले भने, ‘म यसमा क्षमायाचना गर्छु ।’ पाण्डेले माधवकुमार नेपाल र ओलीलाई लगाएको आरोपको केही बुँदा हटाउनसमेत तयार भएको ती केन्द्रीय सदस्यले बताए ।
बैठक सुरु हुनेवित्तिकै नेपाल-ओली पक्षधर कर्णबहादुर थापा, भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गुरु बराल, जगन्नाथ खतिवडा, रघुजी पन्तलगायतले पाण्डेको प्रस्तावप्रति आपत्ति जनाएका थिए । पाण्डेको प्रस्ताव पार्टीमाथि गरिएको गम्भीर प्रहार भन्दै उनीहरुले फरक धारका नेताहरुमाथि नेतृत्वले अपराध गरेको आरोप लगाएका थिए ।
ओली पक्षधर नेताहरुले पाण्डे एक्लैले प्रस्ताव तयार नगरेको दाबी गर्दै नेतृत्वकै सहमतिमा उक्त प्रस्ताव ल्याइएको जिकिर गरेका थिए । तर पाण्डेले भने आफूले नै प्रस्ताव लेखेको दाबी गरेको अर्का केन्द्रीय सदस्यले बताए ।
नेपाल-ओली पक्षधरले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालविरुद्ध केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेस गरेपछि मंगलबार पोलिटब्युरो सदस्य एवं पूर्व अर्थमन्त्री पाण्डेले नेपाल-ओलीका क्रियाकलापविरुद्ध ११ बुँदे प्रस्ताव पेस गरेका थिए ।
पाण्डेको प्रस्तावमा पार्टीभित्र गुण्डा संस्कृतिलाई बढवा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारीलगायतका अपराधीहरुसँग मिलेर आर्थिक भागबण्डा गरेको र अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितबिरुद्ध दुरुपयोग गरेर पार्टीको प्रतिष्ठालाई आघात पुर्याउने काम गरेका भन्दै त्यसको अविलम्ब छानबिनको माग गरिएको छ ।
मदन भण्डारी फाउन्डेशन, मदन भण्डारी स्पोर्टस् एकेडेमी, अरु विभिन्न नाममा समानान्तर गतिविधि गरेको, गुटगत भेलाहरु गरेको, अदृश्य स्थानबाट आर्थिकस्रोत प्राप्त गरी पार्टीबिरुद्ध गुटबन्दीको लागि प्रयोग गरेकोको पनि पाण्डेको प्रस्तावमा छ ।
माओवादीको विरोध गर्ने नाममा पार्टीलाई कांग्रेसको पछिलल्गु बनाउने प्रयत्न गरेको र महाधिवेशनको फैसलाअनुसार पार्टीको सही क्रान्तिकारी कार्यदिशालाई कुल्चिदै पार्टीलाई दक्षिणपन्थी भासमा पुर्याएको आरोप छ ।
पार्टी निर्णय, पद्धति र अनुशासन उल्लंघन गर्दै सडक र मिडियाबाट पार्टी अध्यक्ष र पार्टी नेतृत्वबिरुद्ध विषबमन गर्दै हिंडेको । पार्टीको स्थापित पद्धति, परम्परा र विधानबिरुद्ध अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेकाले अनुशासनको कारबाही गर्नुपर्ने माग पनि छ । पार्टी कार्यक्रममा गुटगत गतिविधि गर्न विभिन्न जिल्लामा हेलिकप्टरबाट भ्रमण गरेको र विभिन्न विद्यालय, संघसंस्था, व्यक्ति आदिलाई आर्थिक सहयोग गराउँदै आएको । त्यस्तो खर्चको स्रोत पार्टीलाई कहिल्यै नदिएको ले तत्काल छानबिन गर्नुपर्ने माग पनि गरिएको छ ।
जनआन्दोलनका बिरुद्ध उभिएको, गणतन्त्रबिरुद्ध राजतन्त्रको पक्षमा वकालत गरेको, गणतन्त्र स्थापना गर्नुलाई ठेलागाडामा चढेर अमेरिका जानुजस्तै हो भनेर उपहास गरेको आरोप पनि पाण्डेको प्रस्तावमा छ । उनले आफूले पेश गरेका प्रस्तावमा छलफल गरी त्यस्ता गतिविधिमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।



