सरकारले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा सेना परिचालन गरेर भए पनि काम सुचारु गर्ने

काठमाडौं – सरकारले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा सेना
परिचालन गरेर भए पनि काम सुचारु गर्ने भएको छ ।

सिंहदरवारमा आइतबार सार्वजनिक लेखा समितिको बैठकमा ऊर्जा मन्त्री गोकर्ण विष्टले
दैलेखको पाल्तडास्थित उक्त परियोजनामा सेना परिचालन गरेरै भए पनि काम अगाडि बढाइने
जानकारी दिए । स्थानीयको हित विपरीत परियोजना निर्माण भएको भन्दै स्थानीयले जेठ
पहिलो साता परियोजनामा तोडफोड र आगजनी गर्दा परियोजनाका तीनवटै भवर क्षति भएको थियो

‘माथिल्लो कर्णालीमा सुरक्षाको समस्या आइरहेको छ,’ बैठकमा ऊर्जा मन्त्री विष्टले
भने, ‘अब सरकारले सेना परिचालन गरेरै भए पनि परियोजनाको काम अगाडि बढाउँछ ।’

ऊर्जा मन्त्री विष्टले १६ वर्षदेखि भारत बिजुली निर्यात गर्न नसक्ने वेस्ट सेती
हाइड्रो पावर कम्पनीको अनुमतिपत्र खारेज गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘कम्पनीलाई लगानी सम्झौता (फाइनान्सियल क्लोजर) किन खारेज नगर्ने ? भनी स्पष्टीकरण
सोधेका छौं,’ मन्त्री विष्टले भने, ‘१५ दिनभित्र चित्तबुझ्दो जवाफ नआए सरकारले
कारबाही प्रक्रिया अगाडि बढाउँछ ।’

बैठकमा सभासद्हरुले ऊर्जा संकट समाधानमा सरकारको भूमिकालगायतका विषयमा मन्त्री
विष्टसँग जानकारी मागेका थिए ।