धर्मको आडमा धनलक्ष्मीको ठगी जारी

– रामजी बगाले
धार्मिक आडको नाम दिनदहाडै ठगी कार्य जारी राखेको धनलक्ष्मीलाई सम्बन्धित निकायले कारवाही नगर्दा कयौं सर्वसाधारणको करोडौं रकम ठगी भएको छ।प्रारम्भमा शिवशक्ति कवच नामबाट आफ्नो ठगी धन्दा चलाइरहेको एक समूहलाई प्रशासनले शिवशक्तिको कारोबारमा रोक लगाएपछि अहिले पुनः धनलक्ष्मी कवच नाम फेरेर सर्वसाधारण ठग्ने कामलाई अझै तीव्रता दिएको छ।
स्थानीय प्रशासनलाई समेत प्रभावमा पारेर ब्रम्हलुट मच्चाइरहेको यो समूहलाई प्रशासनले कारवाही नगर्नु र थाहा नभएजस्तो गर्नु अचम्मको विषय बनेको छ। सप्तऋषि संस्थानको अनुपम कृति भन्दै भगवान शीवको तस्वीर राखी २४ क्यारेट सुनको कवच भन्दै सर्वसाधारण ठगेको यस समूहले यो कवच लगाउँदा स्वस्थ, सुख र समृद्धि हुने सपना बाढी सर्वसाधारणबाट करोडौं कुम्ल्याइसकेको छ। ठगीको यो रहस्य पर्दाफास भैसकेपछि यो समूहले पुनः शीवको ठाउँमा लक्ष्मीको फोटो राखी धनलक्ष्मीको नाममा ठगीको व्यापार चलाइरहेको छ।
विना दर्ता, विना अनुमति स्थानीय प्रशासनलाई प्रभावमा पारी धार्मिक आडमा अवैध व्यवसाय गरिरहेको यस समूहले यो कवच लगाउँदा दुर्घटना, रोगव्याधी केही नहुने र छिट्टै धनवान्य हुने सपना बाढी कैयौं सर्वसाधारण ठगेको छ। भ्रममा परी यो कवच खारिद गर्ने उपभोक्ताहरू अहिले आएर आफू ठगीएको महसुस गर्न थालेका छन्। 
एक सय रुपैयाँभन्दा पनि कम मूल्य पर्ने सामानलाई टेलिभिजन विज्ञापनको भरमा लोभ देखाएर हजारौंमा यो समूहले धनलक्ष्मीको गुलियो चटाउँदै सर्वसाधारणलाई ठगिरहेको छ। अहिले शिवशक्ति कवचबाट नाम परिवर्तन गरी ‘धनलक्ष्मी’ नाम दिएर एउटा पातामा देवीको तस्वीर अंकित गरी २४ क्यारेट गोल्डले बनेको र ग्यारेन्टी कार्डसमेत दिइने भन्दै यो समूहले अनेक प्रलोभनमा पारी ५ हजार ७ सय ६० रुपैयाँमा यो सामाग्री बेच्दै आएको छ। सप्तऋषि संस्थानको नाममा टेलिभिजनमा भ्रामिक विज्ञापन प्रशारण गरी यो सामाग्रीलेे सबैलाई धनले सम्पन्न बनाउने झूठो आश्वासन दिदै सर्वसाधारण ठग्दा समेत सम्वन्धित निकाय मौन बस्नु शंकाको विषय बनेको छ। सो साम्राग्रीको विज्ञापनमा केही काल्पनिक मान्छेले सफलता पाएको देखाइने गरेको भएपनि विज्ञापनमा उभ्याइएका र बनाइएका कथा झुठा भएको यसका प्रयोगकर्ताहरुले बुझिसकेका छन्। धनलक्ष्मी प्रयोग गर्ने प्रयोगकर्ताहरू अहिले आफु ठगिएको भन्दै यस्ता ठगलाई नछाडन आग्रह गरिरहेका छन्। धनलक्ष्मीको प्रयोग गर्नेलाई दुईवटा पेन्डेट, एउटा मेरु श्रीयन्त्र, लक्ष्मी प्राप्ती श्रीयन्त्र, लक्ष्मी पाजुका दिने भनिन्छ। यी सबैले खराब ग्रहको नास गर्ने र श्रीबृद्धि, आर्थिक बृद्धि हुने सपना बाडिन्छ विज्ञापन मार्फत्। 
नेपालकै एउटा टेलिभिजनमा नियमित रुपमा आउने उक्त विज्ञापनमा सर्वसाधारण झुक्याउन नेपाली चर्चित कलाकार निखिल उप्रेतीलाई समेत अभिनय गर्न लगाइएको छ। उक्त विज्ञापनमा धनलक्ष्मी यन्त्र चाहिएमा सम्पर्क गर्न ९८५१०३१००१, ९८५१०३१००२, ९८५११२५७८८ नम्वरका मोवाइल नम्वर दिइएको छ। सर्वसाधारण ठग्दै आएको यो संस्थाको कुनै कार्यालय समेत छैन। कार्यालय स्थापना गरी काम गर्दा जुनसुकै बेला प्रयोगकर्ता वा सुरक्षा निकायको तारो बन्न सक्ने डरले कार्यालय नखोलिएको स्रोतले बताएको छ।             
-यूएई डेस्क