बिग्रेका कम्युनिस्ट : कम्युनिस्ट नेताहरूका अकुत सम्पत्ति, के राजनीति परिवर्तनका लागि थियो कि सम्पत्ति थुपार्न ?

 

-वसन्त खड्का, अर्घाखाँची। 

अर्घाखाँची। नेपालका श्रमजीवी, सर्वहारा र उत्पीडित वर्गका प्रतिनिधि बन्ने दाबी गर्ने कम्युनिस्ट नेताहरू आजको दिनमा अकुत सम्पत्तिका मालिक बनेका छन्।

हिजो गाउँगाउँमा पैदल हिँडेर संगठन बनाउने, सामान्य घरमा बास बस्ने, साधारण भोजन गरेर संघर्ष गर्ने नेताहरू सत्ताको स्वाद चाखेपछि विलासितामा रमाइरहेका छन्। यदि उनीहरूको सम्पत्तिको वास्तविक छानबिन गरियो भने, उनीहरू यति ठूलो धनराशि कहाँबाट कमाउन सफल भए भन्ने प्रश्न उठ्छ। उनीहरूको आधिकारिक आम्दानी स्रोत के हो? उद्योग-व्यवसाय छैन, व्यापार छैन, तर दिनप्रतिदिन उनीहरूको सम्पत्ति आकासिँदै गएको देखिन्छ।

राजनीति जनताका लागि कि आफ्नै स्वार्थका लागि? कुनै समय कम्युनिस्ट नेताहरूले परिवर्तनको सपना बाँडेर जनता समक्ष गए। श्रमजीवी वर्गको मुक्तिका लागि लड्ने दाबी गरे। तर जब सत्तामा पुगे, परिवर्तनको नाममा आफ्ना घरपरिवार मात्र समृद्ध बनाए।

कम्युनिस्ट राजनीति : हिजो, आज र भोलि | अन्नपूर्ण पोस्ट्

राजनीतिलाई समाज परिवर्तनको साधन होइन, आफ्ना आफन्त र आसेपासे पोस्ने माध्यम बनाए। आज तिनै नेताहरूका छोराछोरीको बिहे भोज हेर्ने हो भने, ठूला उद्योगपति वा व्यापारीको भन्दा कम देखिँदैन। लाखौँ-करोडौँ खर्चेर धुमधामले बिहे गरिन्छ। कुनै बेला कम्युनिस्ट पार्टीभित्र ‘प्रगतिशील बिहे’ को चलन थियो— साधारण समारोहमा माला-अबिर लगाएर बिहे सम्पन्न गरिन्थ्यो।

तर, आज सत्तामा पुगेपछि आफ्नै छोराछोरीको बिहे गर्दा महँगा होटलमा भव्य भोज गर्न कत्ति पनि लाज लाग्दैन। हिजो पार्टी संगठन बनाउन गाउँगाउँमा जाने नेताहरू जनताको सामान्य खानासमेत स्वीकार गर्थे, पैदल यात्रा गर्थे, स्थानीय कार्यकर्तासँगै सुत्थे। तर, आज त्यही ठाउँमा जानुपर्यो भने करोडौँ पर्ने गाडीमा हुइँकिरहेका छन्, सामान्य घरमा बस्नै सक्दैनन्, महँगा होटलको खोजी गर्छन्।

नेताहरूले भाषणमा समाजवादको कुरा गर्छन्, सर्वहारा वर्गको मुक्तिको कुरा गर्छन्, तर उनीहरूकै जीवनशैली हेर्दा समाजवाद होइन, पूँजीवादकै पराकाष्ठा देखिन्छ। जनताका लागि परिवर्तनको नाममा राजनीति गर्नेहरू अन्ततः आफ्नो विलासिताको लागि मात्र राजनीति गरिरहेका छन् भन्ने यथार्थ खुलेको छ।

कम्युनिस्ट नेताको विलासितापूर्ण जीवनशैली सुहाउँछ? कम्युनिस्ट नेताहरू महलमा बस्ने, विलासी गाडी चढ्ने, विदेशमा सम्पत्ति जोड्ने अनि आफूलाई श्रमजीवी वर्गका नेता भन्न सुहाउँछ? यदि उनीहरू साँच्चिकै जनताका नेता हुन् भने, तिनका सम्पत्ति छानबिन हुनुपर्छ। उनीहरूको आम्दानी स्रोत पारदर्शी हुनुपर्छ। साँचो कम्युनिस्ट भनेको विलासी जीवन बिताउने होइन, श्रमजीवी वर्गसँगै सुख-दुःखमा रहने हो।

यदि नेताहरूको जीवनशैली नै ठूला पूँजीपतिको जस्तो भयो भने, के तिनीहरूलाई अब ‘कम्युनिस्ट’ भन्ने नै आधार बाँकी रहन्छ? सम्पत्ति जोड्नकै लागि राजनीति गर्ने प्रवृत्ति अन्त्य नभएसम्म, साँचो जनपक्षीय राजनीति स्थापित हुन सक्दैन।

परिवर्तनको नाममा जनतालाई मात्र प्रयोग गर्ने नेताहरूको वास्तविकता अब ढाकछोप गर्न सम्भव छैन। जनताले आँखाले देखेका छन्, अनुभव गरेका छन्, र अब निर्णय गर्ने बेला आएको छ।