राष्ट्रिय राजनीतिमा तरंग पैदा गरिदिएको पत्रकारमाथिको आक्रमण भएको घट्नाको अनुसन्धानमा सघाउन एमालेले आरोपितको ध्यानाकर्षण

राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको एकजना पत्रकारमाथिको
आक्रमणबारे औपचारिक रुपमा मुख खोल्दै नेकपा एमालेले अनुसन्धानमा सघाउन घट्नाका
आरोपितको ध्यानाकर्षण गराएको छ।

विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणको विषयलाई लिएर आफूप्रति संचार
क्षेत्रको आशंका बढ्दै गएको अनुभव गरेपछि सरकारको नेतृत्व गरिरहेको एमाले प्रचार
विभागले त्यस प्रकरणमा अग्रसरता देखाएको हो।

एमाले प्रचार विभागको आकस्मिक बैठकको भाषाले प्रष्ट नभने पनि आशय ‘फरार भनिएका
मुख्य आरोपित परशुराम बस्नेतलाई प्रहरीको सम्पर्कमा जान आग्रह गरे जस्तो’ छ।

बैठकले पत्रकार ढकालमाथिको आक्रमणको निन्दा गर्नुका साथै पत्रकारहरुको भौतिक र
पेशागत सुरक्षाको प्रत्याभूतिको निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको
छ।

अर्को निर्णयमा घट्नामा संलग्न भनिएका आफ्ना कार्यकर्तालाई अनुसन्धानमा सघाउन
ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए।

उनले भने, “राज्यलाई अनुसन्धानमा सघाउनु र उसले चाहेको आश्यक सूचना दिनु हरेक
नागरिकको कर्तव्य भएकाले यो घट्नाका आरोपितलाई अनुसन्धानमा सघाउन र निर्दोष भए
प्रमाणित गर्न ध्यानाकर्षण गराएका छौं।”

पत्रकार हमलामा संलग्न युवा संघ मोरङका दुईजना पक्राउ परेका छन्।

मुख्य आरोपि भनिएका परशुराम बस्नेत फरार रहेको प्रहरीको भनाई छ।

ज्ञवालीले उनी पार्टी सम्पर्कमा नरहेको जनाए, “आरोपित परशुराम बस्नेत अहिले
पार्टीको सम्पर्कमा रहेको कुरा कमसे कम मेरो जानकारीमा छैन।”

एमाले प्रचार विभागले उक्त प्रकरणका सिलसिलामा गरिएको युवा संघ अध्यक्ष महेश
बस्नेतको गिरफ्तारीको पनि निन्दा गरेको छ।

अध्यक्ष बस्नेतले मुख्य आरोपित बस्नेत आफ्नो सम्पर्कमा रहेको भन्दै समात्न
प्रहरीलाई चुनौति दिएको भन्ने खबरहरु लगातार आउन थालेपछि उनलाई विहिवार इटहरीमा
गिरफ्तार गरिएको थियो।

एमालेको दवावपछि गृह मन्त्रालयले उनलाई विहिवार नै रिहा गर्न मोरङ प्रशासनलाई
निर्देशन दिएको थियो।

तर आफ्नो गिरफ्तारिको कारण माग्दै उनी छुट्न मानेका थिएनन्।

शुक्रवार छुटे लगत्तै बस्नेत काठमाडौं फर्किएका छन्।