बहुमत आउने परिस्थिति छैन, ठूलो दल बन्ने गरी लागौं : देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  एउटा मात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै आउँदो चुनावमा धेरै भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्नेमा जोड दिए ।

पार्टीमा असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुनसक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने ।

उनले वर्तमान सरकार सफल हुने दाबी समेत गरेका छन् । सत्तामा प्रमुख दल कांग्रेस–एमाले भएपनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको बताए ।