माओवादी द्वन्दको बेलामा भन्दा पछिल्लो तीन बर्षमा मधेशमा गैरन्यायिक हत्या र मधेशी समुदायलाई गलत आरोप लगाएर मुद्दा लगाउने क्रियाकलाप बढेको सद्भावना पार्टीको आरोप

भैरहवा   – नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दश बर्षे माओवादी
द्वन्दको बेलामा भन्दा पछिल्लो तीन बर्षमा मधेशमा गैरन्यायिक हत्या र मधेशी
समुदायलाई गलत आरोप लगाएर मुद्दा लगाउने क्रियाकलाप बढेको आरोप लगाएका छन् ।

सोमबारदेखि भैरहवामा सुरु भएको सद्भावना पार्टी बर्गिय मञ्चको तीनदिने राष्ट्रिय
सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै अध्यक्ष महतोले उक्त आरोप लगाएका
हुन् ।

माओवादी कार्यकालमा ९३ जना मधेशी ब्यक्ति गैरन्यायिक हत्यामा परेकोमा पछिल्लो
तिन बर्षमा १ सय ९६ पुगेको र ६ सय भन्दा धेरैलाई गलत मुद्दा लगाईएको दावी उनको थियो

तीन ठूला राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति अनुरुप राष्ट्रिय सहमतिको सरकार
बनाउने प्रयास नभएको जनाउँदै राष्ट्रिय सहमति बनाउने भूमिका प्रधानमन्त्री झलनाथ
खनालले निभाउन नसकेको आरोप लगाए ।

तीन दलबिच भएको पाँच बुँदे सहमति अनुरुप संविधान सभाको म्याद थप तीन महिनालाई
बढाउने बाहेकको अन्य कुनै बुँदा हालसम्म पुरा नभएको दावी उनले गरे । मधेशको सवाल
प्रति तिन ठूला दलका कुनैपनि नेता नबोलेको उल्लेख गर्दै उनले मधेशवादी दल र
कार्यकर्ताको निम्ती आउनेवाला समय अझै संघर्षपूर्ण हुने बताए ।