


काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राजतन्त्रको संभावना नरहेको बताएका हुन् ।
‘हामीले गरेको उदार प्रबन्धलाई बिर्सेको हो । राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ


मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ भने । । ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उनले भने । उनले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि गुरुङले बताए ।



