खाडीमा नेपालीको संख्या र तलब बढ्ने

खाडी डेस्क – खाडी मुलुकका श्रममन्त्रीहरूले नेपाली कामदारले उत्कृष्ट काम गर्दै आएको भन्दै संख्या र पारिश्रमिक बढाउने आश्वासन दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सयौं सम्मेलनका क्रममा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र मरिससका श्रममन्त्रीले यस्तो आश्वासन दिएको श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले बताए ।
उनका अनुसार मन्त्रीहरूले अहिलेको भन्दा उच्च दरमा नेपाली कामदारको संख्या बढाउने नीति अवलम्बन गरिने बताएका छन् । खाडी मुलुकका सरकारले विदेशी कामदार लिन बर्सेनि कोटा तोक्ने गर्छन् । पछिल्लो समय एकै देशका कामदारको संख्या बढी हुँदा सामाजिक तथा सांस्कृतिक समस्या आउने भन्दै श्रमिक स्रोत विविधीकरणका क्रममा नेपाललाई उच्च प्राथमिकता दिने मन्त्रीहरूको भनाइ छ ।
खाडी मुलुकमा कुल जनसंख्याको ७० प्रतिशत विदेशी कामदार रहेकोमा अहिलेसम्म १८ लाखमात्र नेपाली गएका छन् ।