काठमाडौ – अर्थ मन्त्रालयले असार २९ गते संसदबाटै पूर्ण बजेट ल्याउने
तयारी थालेको छ । पूर्वबजेट छलफलका लागि अर्थमन्त्री भरतमोहन अधिकारीले मस्यौदा
बुधबार संसदमा पेस गर्ने तयारी गरेका छन् ।
‘असार ८ गतेदेखि पूर्वबजेट छलफल सुरु गर्न सभामुखसँग समय लिइसकेको छु,’ उनले
भने, ‘असार २९ गते बजेट ल्याउने गरी तयारी भइरहेको छ ।’
यसअघि पूरक बजेटका क्रममा रकम छर्ने तयारी गरेका अर्थमन्त्रीले यसपटक प्रतिपक्षी
कांग्रेसलाई पनि विश्वासमा लिएर लगानीमुखी बजेट ल्याउने दाबी गरेका छन् ।
‘कांग्रेसका नेताहरूसँग छलफल भएको छ र उनीहरूले पूर्व बजेटमा छलफल हुनुपर्ने विषय
टिपाएका छन्,’ उनले भने ।
कांग्रेसले अर्थमन्त्रीलाई सीधै पैसा बाँड्ने कार्यक्रम नल्याई पुँजीगत खर्चमा
ध्यान पुगे बजेट ल्याउन आपत्ति नभएको जनाएको छ । ‘पैसा बाँडेर अर्थतन्त्र बिगार्ने
कार्यक्रम नल्याउनुस् भनेका छौं,’ कांग्रेसका सचेतक लक्ष्मण घिमिरेले भने ।
यससँगै महत्त्वपूर्ण चालू योजनामा थप रकम दिनुपर्ने, जिल्ला विकास समिति, गाउँ
विकास समितिमा सर्वदलीय नाममा भइरहेको रकमको दुरुपयोग रोक्नुपर्ने माग पनि राखेको छ
। यससँगै सहकारीलाई सीधै रकम दिन नहुने पनि उसले धारणा राखेको छ । ‘पूर्वबजेट छलफल
हुनुलाई सकारात्मक रूपमा लिएका छौं,’ घिमिरेले भने, ‘तर अहिले हुन्छ भनेर पछि अर्कै
बनाए परिस्थिति बेग्लै हुन्छ ।’
मन्त्री अधिकारीले भने सहकारी लक्षित कार्यक्रम भए पनि सीधै रकम नबाँडिने बताएका
छन् । ‘बाख्रापालनलगायत कार्यक्रमलाई बैंक वित्तीय संस्थामार्फत कम ब्याजदरमा रकम
उपलब्ध गराउने योजना छ,’ उनले भने । बचत तथा ऋण सहकारीलाई नभई उत्पादन वृद्धि गर्न
सहयोग पुग्ने सहकारीलाई मात्र सहयोग गर्ने जिकिर अर्थमन्त्री अधिकारीको छ ।
यससँगै बजेटमा नक्कली मूल्य अभिवृद्धिकर -भ्याट) बिलमा संलग्न भएकाको कारबाही
फुकुवा नभई थप कडाइ गरिने दाबी पनि अधिकारीको छ । ‘सात वर्षसम्म यसअघि छली पत्ता
लाग्न सकेन,’ उनले भने, ‘अबको बजेटमा चाँडै कारबाही गर्न सकिने संयन्त्रबारे छलफल
भइरहेको छ ।’ उनले आफूले नक्कली भ्याट बिलमा संलग्नलाई सहुलियत दिएको नभई कारबाही
थप बढाइएको दाबी गरे ।
सरकार परिवर्तन बजेटका लागि बाधक हुनु नहुने उनले बताए । ‘२९ गते जो अर्थमन्त्री
हुन्छ उसैले बजेट ल्याउला,’ उनले भने, ‘तर छलफल सुरु गरौं र समयमा बजेट ल्याऊँ भनेर
कांग्रेससँग पनि सहमति गरेको छु ।’
संविधानसभाको निर्वाचनयता पूर्वबजेट छलफल भई बजेट आउन सकेको छैन । पूर्व छलफल
सकिए लगत्तै सरकारको नीति तथा कार्यक्रम ल्याई काम अघि बढाउने तयारी भइरहेको छ ।
‘सभामुखले पाँच दिनमा छलफल सक्न भन्नुभएको छ,’ उनले भने, ‘त्यस लगत्तै नीति तथा
कार्यक्रम ल्याउने तयारीसमेत भएको छ ।’ सरकारको नीति तथा कार्यक्रम संसदमा
राष्ट्रपतिले प्रस्तुत गर्ने प्रवाधान छ ।
उनले वित्तीय क्षेत्रको तरलता लगायत समस्या समाधान गर्न सर्वदलीय छलफल गरिने
बताए । बजेट खर्च नभएको लगायत कारणले वित्तीय क्षेत्रमा रकम अभाव भएको छ । ‘सबै दल
र अर्थविदहरू समेत सम्मिलित कार्यक्रम गरी समाधानको उपाय खोज्छु,’ उनले भने ।
उनले कृषकको ऋण मिनाहा गर्ने लगायत कार्यक्रम पनि केही नसमेटिने बताए । ‘बजेट
ल्याएर मात्रै हुँदैन, त्यसको कार्यान्वयन पनि हुनुपर्छ,’ उनले भने, ‘सबैको सहमतिमा
कार्यान्वयन गर्न सकिने खालको बजेट आउँछ ।’
– कान्तिपुर



