काठमाडौ – माओवादी अध्यक्ष पुष्पकम दाहाल अन्तरसंघर्ष व्यवस्थापन गर्न
तत्काल बिधि बनाएर अघि बढ्ने गृहकार्यमा लागेका छन् । सेना समायोजन र संविधान
निर्माणका केही मुद्दामा उपाध्यक्ष मोहन बैद्य पक्षको फरक मतलाई सम्बोधन गर्न बिधि
बनाउन उनले गृहकार्य थालेका हुन् ।
उनले शनिबार साँझ उपाध्यक्ष बाबुराम भट्टराई र विहान आफू निकट उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव पोष्टबहादुर बोगटी, स्थायी समिति
सदस्य बर्षमान पुनलगायतसंग अन्तरसंघर्ष बिधि तय गर्ने बिषयमा छलफल गरे ।
‘अध्यक्ष एउटा बिधि बनाएर अन्तरसंघर्ष व्यवस्थापन गर्ने गृहकार्यमा हुनुहुन्छ’
उनी निकट एक वरिष्ठ नेताले भने, ‘शान्ति र संविधानको कार्यनीति पारित गराएर
जानुहुन्छ ।’ यो कार्यनीतिमा उपाध्यक्ष भट्टराईको समर्थन भएकाले उनी बैद्यको फरक मत
छलफल गर्ने ठोस बिधि बनाएर सहमति जुटाउने तयारीमा छन् । उनले आइतबार उपाध्यक्ष
बैद्यसंग छलफल गर्दैछन् ।
मन्त्रीपरिषद्मा समावेशी प्रतिनिधित्व गराउने र पार्टीमा देखिएको विवाद
महाधिवेशनमा लगेर टुंग्याउने गरी छलफल अंघि बढाउने बिषयमा उनले भट्टराईसंग छलफल
गरेको निकट स्रोतले जनायो ।
दाहालले गत पुसमा केन्द्रीय समितिले पारित गरेको पाँच बुँदेमा टेकेर नयाँ बिधि
बनाउन लागेका हुन् । पाँच केन्द्रीय स्तरका प्रशिक्षणहरूमा मतभेदको स्थितिलाई
स्पष्ट पार्ने, पार्टी निर्णयअनुसार काम कारबाहीमा एकरूप भएर जानेबारे प्रतिबद्धता
जाहेर गर्ने, पार्टी कार्यदिशा, कार्ययोजना र नेताहरूका विरुद्ध सार्वजनिक विरोध र
नकरात्मक टिप्पणी गर्न नपाइने, एउटै कमिटीमा आवद्ध कमरेडहरूका बीचमा सम्बन्धित
कमिटिको औपचारिक बैठकबाहेक पनि आपसमा छलफल तथा अन्तरक्रिया गर्न पाइने र तत्कालिन
कार्यनीतिसाग सम्बन्धित मतभेदहरूलाई ‘विचारधारा’ -आन्तरिक प्रकाशन) मार्फत् पार्टी
पङ्क्तीमा प्रवाहित गर्ने उल्लेख छ । दाहालले अब बनाउने बिधिमा भने अराजक नेता तथा
कार्यकर्तालाई नियन्त्रण गर्ने कडा नीतिको तयारीम्ाा लागेका छन् ।
शुक्रबार सुरु बैठकमा दाहालले अन्तरसंघर्ष समाधान गर्ने बिधि, उचित कार्यबिभाजन,
सरकारमा समावेशी सहभागिता गरी बिवाद समाधान गर्ने प्रस्ताव राखेका थिए । भट्टराई
पक्षले शान्ति र संविधानको कार्यनीतिमा दाहाललाई समर्थन गरे पनि कार्यबिभाजन र
अन्तरसंघर्ष समाधान गर्न महाधिवेशनको मिति तोके बिवाद मिल्ने बताएका छन् । भट्टराई
पक्षका पोलिटव्युरो सदस्य देबेन्द्र पौडेलले दुई कुरा तत्काल लागु गरे तत्काल बिवाद
समाधान हुने बताए ।
‘उचित कार्यबिभाजन र वैचारिक बिवाद समाधान गर्न महाधिवेशनको मिति तोके कुरा
मिल्छ’ उनले भने ।
बैद्य निकट स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले भने संविधानसभाको म्याद थप्दा
गरिएको निर्णय सच्याएर अन्तरसंघर्ष समाधान हुने बनाए । ‘अध्यक्षहरुले जे निर्णय
गर्नुभयो, त्यसमा पुनर्बिचार गर्नुपर्छ’ उनले कान्तिपरलाई दिएको अन्तरवार्तामा
शनिबार भने, ‘नेताको दोहोरो सुरक्षा हटाउने, हतियार अलग गर्ने, निर्देशनालय
अन्तर्गत जाने कुरा केन्द्रीय कमिटीले निर्णय गरेको छैन । बैठकले यो निर्णय
पुर्नविचार गर्नुपर्छ ।’
बिवाद मिलाउने गृहकार्यका लागि शुक्रबार सुरु केन्द्रीय कमिटी बैठक कम्तिमा ३
दिनका लागि स्थगित गरिएपनि मुख्य तीन नेताबीच सहमतिमा बैठक लम्बिने संभावना छ ।
उपाध्यक्षद्धय बैद्य र भट्टराइले सांगठनिक र कार्यबिभाजनको एजेण्डामा पहिले सहमति
गरेपछि मात्र बैठक बस्नुपर्ने अडान लिएका छन् ।
यसैबीच मतभेद बढिरहंदा शिर्षस्थ नेताले आफ्नो पक्षमा भेला गर्ने क्रम जारी छ ।
यसैक्रममा तीन कुनेस्थित स्थित एक पार्टी प्यालेसमा शनिबार दाहाल पक्षका लेखक
कलाकारको भेला भएको छ । भेलामा अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनसांस्कृतिक
महासंघ, अखिल नेपाल जनकलाकार संघ, ललित कला संघ र चलचित्रकर्मी संघका केन्द्रीय
सदस्य उपस्थित थिए । स्थायी समिति सदस्य बर्षमान पुन, पोलिटव्युरो हरिवोल
गजुरेललगायतले प्रशिक्षण दिए ।



