
काठमाडौ – प्रमुख तीन दलका शीर्ष नेताहरुबीच शान्ति प्रक्रिया र
संविधान निर्माणका विषयमा छलफल भएको छ । बैठकले कुनै निष्कर्ष निकाल्न सकेन
।कांग्रेस उपसभापति रामचन्द्र पौडेलको निवासमा आइतबार बिहान भएको छलफलमा माओवादी
अध्यक्ष पुष्पकमल दाहाल तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी थिए ।
तीन दलबीच भएको पाँच बुँदे सहमति,बजेट लगायतका विषयमा छलफल भएको थियो । सहमति
अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने पौडेल माग गरेका थिए ।
बैठकपछि नेता पौडेलले माओवादीका विभिन्न तह तप्काका नेताहरुबाट आइरहेको
अभिव्यक्तिले शान्ति प्रक्रिायालाई अप्ठ्यारोमा पार्ने चिन्ता बढेको प्रतिक्रिया
दिए । उनले सहमति विपरीत सरकारले नयाँ बजेटको तयारी गरेकोमा असहमति जनाए ।

माओवादी अध्यक्ष दाहालले सेना समायोजनका विषयमा छलफल भएको बताए । उनले दलहरुबीच
लामो बैठक बस्न जरुरी रहेको उल्लेख गरे ।
एमाले नेता नेपालले सेना समायोजनका विषयमा माओवादीले आन्तरिक छलफल गर्नुपर्ने
भन्दै केन्द्रीय समितिको बैठक अगाडि पनि शीर्ष तहमा छलफल गरेर टुङ्गयाउन सुझाव दिए
।





