काठमाडौ – कटारीबाट काठमाडौ जाँदै गरेको ना ४ ख ४४२९ नम्बरको यात्रुवाहक बस आज बिहान ४ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाविस १ हिलटप होटल नजिकै त्रिशुली नदीमा खस्दा दर्जन यात्रु बेपत्ता रहेका छन्।
नदीमा आधा डुबेको अबस्थामा रहेको बसबाट ३२ जना घाइते यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका मध्ये २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ।
बसमा टिकट काटेका ४२ जना यात्रु चढेको प्रमाण फेला परेको छ। बसका कर्मचारी समेत गरी ४५ जनाभन्दा बढी मानिस रहेको अनुमान प्रहरीले गरेको छ।
बेपत्ता यात्रुको खोजी कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक बलबहादुर गिरीले जानकारी दिए। घाइते र मृतकको सनाखत हुन सकेको छैन। बेपत्ता भएका व्यक्तिहरको पनि यकिन हुन सकेको छैन।



