नुवाकोट – चारसयभन्दा बढी महिलालाई वेश्यालयमा बिक्री गरेको आरोप लागेका घ्याङफेदी गाविस-७ बोलुङका काले तामाङ पक्राउ परेका छन् । पन्ध्र वर्षको अवधिमा तामाङले चारसयभन्दा बढी महिला र बालिका भारतका वेश्यालयमा बिक्री गरेको घ्याङ्फेदी र शिखरवेशीका सर्वसाधारणको भनाइ रहेको छ ।
तीन वर्षदेखि प्रहरीले खोजीमा रहेको तामाङलाई केही दिनअघि जिल्ला प्रहरी कार्यालयले नुवाकोट पक्राउ गरेको हो । तर उनले प्रहरीसँग सात जना महिला मात्र बेचेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक बालकृष्ण थापा बताए ।
जिल्ला प्रहरी कार्यालयले नुवाकोटमा मानव बेचविखनमा संलग्न ३० जना ‘मोस्ट वान्टेड’ को सूचीमा रहेको जनाइएको छ । फरार रहेकाको पक्राउका लागि प्रहरी लागिरहेको प्रहरी नायव उपरीक्षक थापाले जनाए ।
रासस



