पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आफूले गद्दी छाडेपछि मुलुक झन् संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त

काठमाडौं  – पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेपछि मुलुक झन्
संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

६५ औं जन्मदिनका अवसरमा निर्मल निवासमा भएको जन्मोत्सव कार्यक्रममा
सञ्चारकर्मीसित कुरा गर्दै उनले मुलुकको अवस्थाप्रति चासो र चिन्ता प्रकट गरेका छन्

‘देशमा मलाई पनि अलिकति कठीनाई भएको स्थिति जस्तो लाग्छ,’ उनले पत्रकारसँग
संक्षिप्त कुरा गर्दै भने, ‘जुन अवस्थामा मैले छाडेको थिएँ यस्तो होला जस्तो लागेको
थिएन, तर प्रार्थना गरुँ नेपाली जनताको सुख शान्ति होस् ।’

यद्यपि पूर्व राजाले अहिले नै निरास हुने अवस्था भने नआएको उल्लेख गरे । ‘अझै
निरास हुनुभएन, असारको महिनामा रोपाईंको बेलामा तपाईंले चौरवीको चाँद त खोज्नुभएन,’
उनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गरे ।

सञ्चाकर्मीले पाँच बुँदे सहमति, शान्ति र संविधानका विषयमा सोधेको जिज्ञासाको
जवाफ दिन अस्वीकार गरे । ‘फेरि पनि त्यो कुरा मलाई भन्दा पनि तपाईंलाई नै थाहा छ,’
उनले आफ्नो लिखित विज्ञप्ती हेर्न आग्रह गर्दै भने, ‘सवै चासो र चिन्ता मैले त्यहिँ
(लिखित विज्ञप्तीमा) नै जाहेर गरेको छु, त्यो जनतालाई जानकारी दिनुहोला ।’

पूर्वराजाको जन्मदिन मनाउन राप्रपा नेपालका कार्यकर्तासहित राजावादी र
पूर्वराजाको नातेदार निर्मल निवासमा भेला भएका थिए ।