संघीयता खारेजको माग गर्दै जनमोर्चा आन्दोलनमा – देशले संघीयता खारेज नगरे संघीयताले नै देशै खारेज गर्नेछ : अध्यक्ष चित्रबहादुर केसी (तस्बिर सहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । आइतबार (चैत २४ गते) राजधानीको शान्तिबाटिमामा जनसभा गरी संघीयता खारेजीका लागि अभियान थालेको हो ।

Nepal life insurance

साताब्यापी संघीयताविरुद्ध आन्दोलन कार्यक्रमको सुरुवात गर्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शासकको कानमा पुग्नेगरी संघीयताविरुद्ध आवाज बुलन्द गर्न आफूहरूले राजधानी केन्द्रित आन्दोलन थालेको बताउनुभयो ।

उहाँले अन्तरिम संविधानबाट जबर्जस्ती संघीयता लादिएको उल्लेख गर्दै गएको १५/१६ वर्षमा जनतामा धेरै नै जागरण आएको स्पष्ट पार्नुभयो ।

‘संघीयता ठीक छैन भन्ने कुरा शासकका कानमा पुर्याउन हामीले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौँ’ केसीले भन्नुभयो, ‘सुरुमा संघीयता जनताको अधिकारका लागि हो भनेर भ्रम दिन सफल भएपनि यो १५/१६ वर्षको अवधिमा जनतामा धेरै नै भ्रम साफ भएको छ ।’

उहाँले पञ्चायत फाल्न ३० वर्ष लागेको, राजतन्त्र विरुद्ध कैयौँ वर्ष संघर्ष गरेर मात्रै राजतन्त्र समाप्त भएको उल्लेख गर्दै संघीयता पनि यही आन्दोलनले खारेज नगरेपनि यो सुरुवात भएको बताउनुभयो ।

‘सतीप्रथा एकैपटक हटेको हो ?’ केसीले प्रश्न गर्नुभयो, ‘पञ्चायत फाल्न ३० वर्ष संघर्ष गर्नुपर्यो । राजतन्त्र फाल्न कत्रो संघर्ष भयो । त्यसकारण संघीयता आजै जान्छ भन्ने होइन । यो त सुरुवात हो । अब जनताले नै यसलाई खारेज गर्छन् ।’

images

अध्यक्ष केसील देशले संघीयता खारेज नगरे संघीयताले देशै खारेज गर्ने दोहोर्याउनुभयो । उहाँले संघीयता नेपाललाई खारेज गर्न भारतीय साम्राज्यवादीलाई चाहिएको दाबी गर्दै त्यसको प्रतिनिधित्व नेपालमा तराईका जमिन्दारहरूले गरेको आरोप पनि लगाउनुभयो ।

‘तराईलाई एक मधेश एक प्रदेश बनाएर हिमाल र पहाडबाट अलग गर्ने र आत्मनिर्णयको अधिकार दिएर छुट्टिन पाउने व्यवस्थाका लागि संघीयता चाहिएको हो’ केसीले भन्नुभयो, ‘भारतीय साम्राज्यवादले नेपाललाई नै खारेज गर्न संघीयता बोकायो, तराईका जमिन्दारले यहाँ ल्याए, राजनीतिक दलहरूले दबाब थेग्न सकेनन् र त्यसलाई स्वीकार गरे ।’

images

उहाँले संबिधान सभाको अधिकार खोसेर अन्तरिम संविधानमा जबर्जस्ती संघीयता घुसाइएको बताउनुभयो । भारतका शासकको उद्धेश्य काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग अलग गरेर कब्जा गर्ने रहेको र युरोपियन युनियनले नेपालमा जातीय राज्य बनाएर विध्वंश मच्चाउन लगानी गरेको स्पष्ट पार्नुभयो ।

images

अध्यक्ष केसीले सत्तामा बसेका राजनीतिक दलहरूले गरेका भ्रष्टाचार र कुशासनका कारण राजावादीहरू फेरि सल्बलाएको आरोप पनि लगाउनुभयो । जनताले संघर्ष गरेर रछ्यानमा मिल्काएको राजतन्त्रलाई कुनै पनि बहानामा टाउको नउठाउन पनि उहाँले चेतावनी दिनुभयो ।
उहाँले भारतीय र अमेरिकी साम्राज्यवादीको हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता जाहेर गर्नुभयो ।

राष्ट्रियता र गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने, प्रदेश संरचनामा जाने दुई खर्ब रुपैयाँ शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने केसीको भनाई थियो ।

Nepal life insurance

राजमो उपाध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरूले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

आन्दोलनमा सहभागी हुन विभिन्न जिल्ला तथा प्रवासबाट समेत राजमोका नेता कार्यकर्ताहरू राजधानी आएका छन् ।

 कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष गाणेश अधिकारी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सवास जीसी, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाले संघीयताविरुद्ध ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

यस्तै, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्ति सांस्कृतिक अभियानका अध्यक्ष गिरी बुढा, अखिल नेपाल बुद्विजीवि संघका अध्यक्ष प्राडा श्रीधर गौतम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष पे्रम पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्मा लगायतले बोल्दै संघीयताविरुद्वको आन्दोलनप्रति एक्येवद्वता जानाउंदै संघीयता खारेज नहुंदासम्म आन्दोलन जारी राख्नु पर्नेमा जोड दिनुभयो ।

चैत ३० गते हुने आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि सोमबार बसुन्धरा र कपनस्थित पार्टी कार्यालय नजिकबाट जुलुश निकालि सुकेधारामा मिसिएर चाबहिलमा सभा गर्ने कार्यक्रम छ । -YD

 

Nepal life insurance