काठमाडौ – नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आह्वान गरेको शैक्षिक
हड्तालका कारण हजारौँ विद्यार्थी मर्कामा परेका छन्। मञ्चले प्राथमिकदेखि उच्च
माविसम्मका निजी तथा सामुदायिक विद्यालय शुक्रबार एक दिनका लागि बन्द गरेपछि
नेपालभर पठनपाठन अवरुद्ध भएको छ ।
माग पूरा गर्न शिक्षा मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराएपनि वास्ता नगरिएकाले
दबाबका लागि एक दिन विद्यालय बन्द गर्नुपरेको मञ्चका कोषाध्यक्ष दिनेश थापाले
जानकारी दिएका छन् ।
मञ्चले अस्थायी शिक्षकलाई सेवा अवधिको गणना गरी स्थायी गरिनुपर्ने, संस्थागत
विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरह तलब भत्ता दिइनुपर्ने,
नियुक्तिपत्रको व्यवस्था गरिनुपर्ने, विद्यालयलाई कम्पनी ऐन अनुसार राख्ने नीति
खारेज हुनुपर्ने, विद्यालयका कर्मचारीलाई तत्काल दरबन्दी कायम गरी स्थायी
गरिनुपर्ने माग राखि आन्दोलन गर्दै आएको छ ।
मञ्चले यसअघि गत जेठ ३० गते उपत्यकाको निजी तथा सामुदायिक विद्यालय बन्द गराएको
थियो भने मञ्चले शुक्रबार अपराह्न ११ बजे संविधान सभा भवन अगाडि शिक्षकहरूको
सम्मेलनसमेत गर्ने भएको छ।
– रासस



