



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् ।

पार्टीको ललितपुर दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादको आधार तयार पार्नु आफ्नो संकल्प रहेको बताए ।

पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए ।
‘सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’

साथै, उनले आफूहरूको अपेक्षाभन्दा धेरै उपलब्धि अभियानबाट प्राप्त भएको दाबी गरे । प्रचण्डका अनुसार, करोड भन्दा बढी जनतासँग यो अभियानका क्रममा संवाद पार्टीका नेताहरूले गरेका छन् ।
‘हामीले पार्टी केन्द्रको बैठकमा समीक्षा ग¥यौं र अभियान चलायौं । झण्डै दुई महिना लाग्यो हामीलाई तराइ मधेश जागरण अभियान सक्नका लागि । हाम्रो अपेक्षाभन्दा धेरै भयो,’ प्रचण्डले भने, ‘हजारौं होइन, लाखौं होइन झण्डै एक करोड जनतासँग संवाद गर्दै गयौं । कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्रै नभइ राष्ट्रिय अभियान बन्न पुग्यो ।’

भ्रष्टाचार विरोधी अभियानका विषयमा आफू सरकारमा हुँदा नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी आफूले काम गरेको प्रचण्डको दाबी थियो ।
भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए।



