सुडान घोटालाका आरोपी पूर्वप्रहरी महानिरीक्षक धरौटी बुझाउन नसकेपछि जेल चलान

काठमाडौं – सुडान घोटालाका आरोपी पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी धरौटी बुझाउन नसकेपछि मंगलबार जेल चलान भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय
ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिनभरको सुनुवाईपछि ठकुरीसँग ७ करोड
धरौटी मागेको थियो ।

अदालतले मागेको धरौटी जोहो गर्न नसकेपछि ठकुरीलाई डिल्लीबजारस्थित सदरखोर जेल
चलान गरिएको हो । सुडान घोटालामा धरौटी मागिएका ठकुरी पाँचौं प्रहरी अधिकृत हुन् ।

अदालतले धरौटी मागेपछि उनले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । ‘अदालतमा
बहस सुनिहाल्नुभएको छ, मैले के भन्नू,’ उनको भनाई थियो ।

सुडान घोटालामा संलग्न रहेको तर पदमा रहँदा कारबाही प्रक्रिया अगाडि बढाउन
नसकिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुनासोपछि सरकारले जेठ अन्तिम साता
ठकुरीलाई पदबाट हटाएको थियो । उनलाई प्रधानमन्त्री कार्यालयको सुरक्षा सल्लाहकारमा
नियुक्त गरिए पनि एक सातापछि नै हटाइएको थियो ।

विशेष अदालतले यसअघि डिएसपी दिनेश केसीलाई ३५ लाख र पूर्व एआईजी दीपेन्द्रबहादुर
विष्टलाई एक करोड रुपैयाँ र निलम्बित एसएसपी श्यामबहादुर खड्कालाई ७० लाख धरौटी
तोकेको थियो । तीनै जना धरौटी बुझाएर जेलबाट छुटेका छन् ।

तर धरौटी बुझाउन नसकेपछि पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ भने
बिहीबारदेखि जेलमै छन् । विशेष अदालतले उनीसँग ५ करोड धरौटी माग गरेको थियो ।

सुडान घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रहरी
प्रमुखसहित ३६ जनाविरुद्ध जेठ तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
गरेको थियो । उनीहरू सबै मिलेर २८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार
गरेको आयोगको अभियोग छ ।

अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो । अभियोग
लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् ।

बेलायती ठेकेदार माइकल रिडर र उनका नेपाली एजेन्ट शम्भु भारतीविरुद्ध पनि अभियोग
लगाइएको छ । माइकल लन्डनस्थित एस्योर्ड रिस्क कम्पनीका निर्देशक हुन् भने शम्भु
उनका नेपालस्थित एजेन्ट ।

सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र
यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।