काठमाडौ – एकीकृत नेकपा माओवादी भित्रको अन्तरविरोध बढ्दै गइरहेको बेला
नेताहरु आफ्नो पक्षमा समर्थन बढाउन गुटगत बैठकलाई प्राथमिकता दिइरहेका छन् ।
संस्थापन पक्षसंग असन्तुष्ट पक्षले बुधबार छुट्टै भेला बोलाएको छ ।
केन्द्रीय समितिको बैठक पटक पटक स्थगित भइरहेको बेला अध्यक्ष पुष्पकमल दाहालसंग
असन्तुष्ट रहेका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षले ललितपुरको
धोबिघाटस्थित सिद्धार्थ कटेजमा आफ्नो पक्षको भेला बोलाएका छन् । भेलामा अर्का
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापालाई पनि बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल बाहेकका प्रमुख नेताहरु उक्त भेलामा उपस्थित देखिएका छन् ।
अध्यक्षले पार्टीको कार्यविभाजन भन्दा सरकारमा पठाउने टोली फेर्ने विषयलाई
प्राथमिकता दिएपछि उपाध्यक्ष वैद्य र भट्टराई थप असन्तुष्ट देखिएका छन् । उनीहरुले
कार्यविभाजनलाई प्राथमिकता दिनुपर्ने अडान लिंदै आएका छन् । गृहकार्य नपुगेको भन्दै
लगातार अध्यक्षले केन्द्रीय समितिको बैठक स्थगित गर्दै आएका छन् ।



