पत्रकारलाई दिउँसै सिध्याइदिने माओवादी नेताको धम्कि

परासी  – समाचार लेखेको बिषयलाई लिएर पत्रकार श्रीराम सिग्देललाई
माओवादी नवलपरासीका सहइन्जार्च दोर्णबाबु सिवाकोटीले ज्यान मार्ने धम्कि दिएका छन्

शुक्रवार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘रक्तचन्दनमा वाईसीएलको संलग्नता’
शिर्षकको समाचारमा आफूले भनेको कुरा राखेको भन्दै शिवाकोटीले पत्रकार सिग्देललाई
शुक्रवार टेलिफोन गरि ज्यान मार्ने धम्कि दिएका हुन् ।

अन्नपूर्णपोष्टका नवलपरासी समाचारदाता सिग्देललाई ज्यान मार्ने धम्कि दिएको
घटनाप्रति नेपाल प्रेस यूनियन नवलपरासी शाखाले गम्भीर आपत्ति जनाउँदै पत्रकार
सिग्देलको जिउज्यानको सुरक्षाको माग गरेको छ ।

यूनियन शाखाका कार्यबहाक सभापित ताराचन्द्र बर्माले शुक्रबार विज्ञप्ती जारी
गर्दै ‘जिम्मेवार दलका नेताले समाचारमा आफैंले भनेको बिषय जस्ताको तस्तै पत्रिकामा
आएको भन्दै ज्यानमार्ने धम्कि दिनु निन्दनिय र स्वतन्त्र प्रेसको बिरुद्ध भएको’
उल्लेख छ ।

यूनियन शाखाले शुक्रवार नै नवलपरासीका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठलाई
ज्ञापनपत्र बुझाएर पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

गत मंगलवार माओवादी सहइन्चार्ज शिवकोटीले कावासोतीमा पत्रकार सम्मेलन गरि
माओवादी वाईसीएल केन्द्रीय सदस्य प्रताप गुरुङ्गको संलग्नता रहेको रक्तचन्दन
कावासोतीमा लुकाएर राखेको प्रहरीले खोजतालाशमा बेवास्ता गरेको आरोप लगाएका थिए ।

उनले पत्रकार सम्मेलनमा भनेकै कुरा जस्ताको तस्तै शुक्रवारको अन्नपूर्ण पोष्टमा
प्रकासित भएको थियो । माओवादी सहईन्चार्ज शिवकोटीले ९८४७१९२९०५ नम्बरको मोबाइलबाट
पत्रकार सिग्देललाई ‘तेरो पनि घर कावासोती रहेछ तलाईं दिउँसै कावासोतीमा
सिध्याइदिन्छु’ भन्दै धम्कि दिएका हुन् ।

एक महिना अघि विराटनगरका पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने दोषि पक्राउ
नपर्दै पुनः नवलपरासीका पत्रकार सिग्देललाई धम्कि दिनुले राज्य पत्रकारको सुरक्षामा
गम्भीर नभएको नेपाल प्रेस यूनियन नवलपरासीले जनाएकोछ ।

समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो हुँदा हुँदै आफैंले बोलेका अभिव्यक्ति
सञ्चारमाध्यममा प्रकाशित भएपछि पत्रकारलाई ज्यान मार्ने धम्कि दिनुले समग्र नेपाली
सञ्चारमाध्यम माथिको धम्कि र आक्रमणको प्रयास भएको विज्ञप्तीमा जनाइएकोछ ।