जातीय सगठनहरुलाई राजनीतिबाट टाढा राखिनु पर्ने उपराष्ट्रपति परमानन्द झाको भनाई

जनकपुर  – जातीय सगठनहरुलाई राजनीतिबाट
टाढा राखिनु पर्ने उपराष्ट्रपति परमानन्द झाले राय व्यक्त गरेका छन् ।

शुक्रवारदेखि सुरु भएको मैथिल व्राह्मण सेवा समाजको प्रथम केन्द्रीय महाधिवेशनको
उद्‌घाटन गर्दै उपराष्ट्रपति झाले जातीय संगठनहरुलाई सामाजिक सेवामा लगाउन आग्रह
पनि गरे ।

मिथिला नगरी जनकपुरको विकास निर्माणप्रति असन्तुष्टी पोख्दै उनले सीता
जन्मभूमिलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकसित गर्नुपर्ने राय व्यक्त गरे ।
उनले भने, ‘लुम्बिनीलाई बौद्ध धर्मको केन्द्रको रुपमा विकास गरे जस्तै जनकपुरलाई
पनि रामायणसंग जोडेर विकास गर्नु पर्छ ।’

समाजका अध्यक्ष पवनकुमार झाको अध्यक्षतामा सम्पन्न उद्‌घाटन सत्रलाई सभासद
यदुवंश झा, सचिव नवीन मिश्रलगायतका वक्ताहरुले संवोधन गरेका थिए । मैथिल व्राह्मण
समाजको महाधिवेशन प्रारम्भ हुनुपूर्व विहान प्रभात फेरी पनि गरिएको थियो । जसमा
मैथिल लिवासमा सजिएका महिला पुरुष सहभागी थिए ।

दुई दिवसीय महाधिवेशनको प्रथम दिन शुक्रवार रंगारंग सांस्कृतिक कार्यक्रमको
आयोजन पनि गरिएको थियो । शनिवार नयॉ नेतृत्व चयन हुनेछ ।