सत्तारुढ दल माओवादीभित्रको जारी अन्तरसंघर्षको व्यवस्थापन नहुँदा शान्ति र संविधान निर्माण नै प्रभावित भएको प्रधानमन्त्री खनालको भनाई

काठमाडौ  –  सत्तारुढ दल माओवादीभित्रको
जारी अन्तरसंघर्षको व्यवस्थापन नहुँदा शान्ति र संविधान निर्माण नै प्रभावित भएको
प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।

उनले संविधानसभाको ठूलो दलको हैसियतमा माओवादी भित्र देखिएको कलहहरुले समग्रमा
शान्ति र संविधानमा नकरात्मक असर पुगेको बताए । शनिबार कम्युनिष्ट संस्थापक नेता
पुष्पलालको ३३ औं स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा
प्रधानमन्त्री खनालले सबै भन्दा ठूलो दलको हैसियतमा माओवदीले आन्तरिक किचलो समाधान
गरी राष्ट्रिय एजेण्डामा केन्द्रीत हुनुपर्ने बताए । माओवदी भित्रको अन्तसंघर्षकै
कारण राजनीतिक गतिरोधले निकास नपाएको उनको भनाई थियो ।

यस्तै पुष्पलालको पूर्ण कदको शालिकमा माल्यार्पण कार्यक्रममा एमाले वरिष्ठ नेता
माधवकुमार नेपालले उग्रवामपन्थी हाबी भएकाले मुलुकमा जटिलता बढदै गएको बताए । जारी
गतिरोध फुकाउन कांग्रेस र कम्युनिष्टको एकता अपरिहार्य रहेको उनको भनाइ थियो ।

पछिल्लो समय मुख्य दलहरु सत्ता केन्द्रित राजनीतिमा लिप्त भएकाले शान्ति र
संविधान आझेलमा परेको नेपालले बताए । कार्यक्रममा अन्य कम्युनिष्ट दलका नेताहरु पनि
सहभागी थिए ।