




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारबारे कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले पद छोड्नु पर्ने बताए ।


विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने कोइरालाले बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए ।
उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे । उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए । -SP



