कङ्ग्रेसले प्रधानमन्त्रीले राजीनामा नदिउन्जेल संसद अवरुद्ध गर्ने काम जारी राख्‍ने

काठमाडौं – प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन दबाब दिने उद्देश्यले प्रमुख विपक्षी दल नेपाली कङ्ग्रेसले संसद अवरुद्ध गराएको छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिउन्जेल संसद अवरुद्ध गर्ने काम जारी राख्‍ने पनि बताएको छ।  

कङ्ग्रेस केन्द्रीय कमिटी बैठकले केही समयअघि मात्रै यस्तो निर्णय गरेको थियो। कङ्ग्रेसले संविधान सभाको म्याद दोस्रो पटक थप्ने बेला भएको पाँचबुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा राख्दै आएको छ। जसमा एउटा बुँदा प्रधानमन्त्रीले राजीनामा दिने पनि छ। सरकार भने अर्को सरकारको प्रारुप तयार भएपछि मात्र राजीनामा दिने बताउँदै आएको छ।

माओवादीले मन्त्री मण्डल पुनर्गठन गर्ने माओवादीको प्रस्तावले पाँचबुँदे सहमति कार्यान्वयन नहुने देखिएको भन्दै कङ्ग्रेस बैठकले प्रधान मन्त्रीको राजीनामा विषयलाई चर्काउन सांसदहरुलाई निर्देशनसमेत दिएको छ।