प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध

काठमाडौं  – प्रधानमन्त्री झलनाथ खनालले पाँच बुँदे सहमतिअनुसार  राजीनामा दिनुपर्ने माग गर्दै कांग्रेसले बिहीबार पनि संसद् बैठक चल्न दिएन ।

कांग्रेस अवरोधले चौथो दिन पनि अवरुद्ध बैठक आइतबार दिउँसो तीन बजेसम्मका लागि
स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेस सभासद् मिनेन्द्र रिजाल र प्रमुख
सचेतक लक्ष्मणप्रसाद घिमिरेले सम्वोधन गर्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म
बैठक चल्नै नदिने दोहोर्‍याए ।

कांग्रेसको विरोधका कारण नियमित कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भयो ।
पाँच बुँदे सहमति कार्यान्वयन गराउन केन्द्रीय समिति बैठकले आवश्यक दबाबमूलक
कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध जारी
राखेको हो ।

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री खनालले राजीनामा
दिनुपर्नेमा उल्टै मन्त्रिमण्डल पुनर्गठन गर्न लागिपरेको भन्दै कांग्रेसले आपत्ति
जनाउँदै आएको छ ।

सभामुखले आग्रह गर्दा पनि कांग्रेस सभासदहरुले उठेर अवरोध गरेपछि बिहीबार
कार्यसूचीमा रहेका कार्यक्रमहरू हटाइएको थियो ।