काठमाडौं – नेपाली कांग्रेसले आइतबार पनि पाँच बुँदे सहमतिअनुसार प्रधानमन्त्री झलनाथ खनालले
राजीनामा दिनुपर्ने माग गर्दै संसद् बैठक अबरुद्ध गरेको छ ।
कांग्रेस अवरोधले पाँचौं दिन पनि अवरुद्ध बैठक मंगलबार दिउँसो तीन बजेसम्मका
लागि स्थगित भएको छ । कांग्रेस अवरोध कारण कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरे
संयोजक रहेको बजेट चुहावट संसदीय छानबिन समितिले प्रतिवेदन बुझाउन पाएन ।
बैठक सुरु भएलगत्तै कांग्रेस सभासदहरुले उभिएर अवरोध गरेपछि सभामुख सुवासचन्द्र
नेम्वाङले पटक-पटक आसन ग्रहण गर्न ध्यानाकर्षण गराएका थिए । उनले कार्यसूचिको पहिलो
नम्वरमा रहेको बजेट चुहावट संसदीय छानबिन समितिले प्रतिवेदन प्रस्तुत गरिने भएकाले
सहयोग गर्न आग्रह गरेका थिए ।
तर छानबिन समितिकै संयोजक कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद् अबरुद्ध गर्नु
रहर नभएको जिकिर गरे । ‘संसद् रोक्नु हाम्रो रहर होइन,’ उनले भने, ‘प्रधानमन्त्री
झलनाथ खनालले राजीनामा नदिएसम्म अवरोध रहिरहन्छ ।’
पाँच बुँदे सहमति कार्यान्वयन गराउन केन्द्रीय समिति बैठकले आवश्यक दबाबमूलक
कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्
अवरोध जारी राखेको हो ।
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री खनालले राजीनामा
दिनुपर्नेमा उल्टै मन्त्रिमण्डल पुनर्गठन गर्न लागिपरेको भन्दै कांग्रेसले आपत्ति
जनाउँदै आएको छ ।



