



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेकोले नडराएको बताएका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपालले गल्ती नगरेको र राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको बताए ।

आफ्नो एउटै सिद्धान्त नबिराउनु र नडराउनु रहेको भन्दै कुनैपनि भ्रष्टाचार नगरेको बताए । ‘नबिराउनु, नडराउनु । मैले करप्शन गरेको छैन, चुनौतिका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे ।’ अध्यक्ष नेपालले भने । नेपालले कानून व्यवसायीसँग परामर्श पनि गरेका छन् ।

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ । -SP



