रातो पासपोर्ट दुरुपयोगीलाई भगाएको आरोपमा अध्यागमन अधिकृतसँग १० लाख रुपैयाँ धरौटी माग

काठमाडौं – रातो पासपोर्ट दुरुपयोगीलाई भगाएको आरोपमा विशेष अदालतले अध्यागमन अधिकृत श्यामबाबु भण्डारीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले भण्डारीबाट १० लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो ।

भण्डारीले सभासद्द्वय गायत्री साह र विश्वनाथप्रसाद यादवको नाममा जारी राहदानीमा फोटो परिवर्तन गरी अस्ट्रेलियातर्फ जान लागेका सीता साह र पृथ्वी छन्त्याललाई त्रिभुवन विमानस्थलबाट पठाउने तथा अध्यागमन कार्यालयबाट भगाउने कार्यमा संलग्न रहेको आरोप छ ।

साह र छन्त्याल १६ जनवरी, २०११ मा त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियातर्फ जाने क्रममा १८ जनवरीमा अबुधाबीबाट नेपाल फर्काइएका थिए ।