साउन २८ भित्र सेना समायोजन सम्वन्धि सबै काम नसके राजीनामा गर्ने बताएका प्रधानमन्त्री बिरामी भएपछि सेना समायोजन समितिको बैठक बस्न सकेन

– सुरेन्द्र पौडेल

 

काठमाडौं –  सेना समायोजन विशेष समितिको बैठक प्रधानमन्त्री झलनाथ खनाल बिरामी भएपछि बस्न सकेन। प्रधानमन्त्रीले साउन २८ भित्र सेना समायोजन तथा पुनर्स्थापनासम्वन्धि सबै काम नसके राजीनामा गर्ने बताएका छन्।

 

‘प्रधानमन्त्री अस्वस्थ हुनु भएकाले आज बैठक हुन सकेन,’ सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले भने। 

पछिल्लो पटक गत बिहीबार बसेको बैठकले माओवादी नेताको सुरक्षार्थ खटिएका लडाकु र हतियार सिविरमा एक साताभित्र फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो।


सोही बैठकमा एकसाताभित्र समायोजन हुने माओवादीको संख्या, विधि, मापदण्ड, स्तर निर्धारण, पुनर्स्थापना प्याकेज लगायतका विषयमा टुंगो लगाउने सहमति भएको थियो। प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित रहेपछि यो सबै प्रकृया पछाडि धकेलिने भएको छ।

 

यसअघि नै माओवादी तथा कङ्ग्रेसका नेताहरुले साउन २८ भित्र यी प्रकृया पूरा हुन नसक्ने दावी गर्दै आएका छन्।