काठमाडौं – प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलहरु प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने घोषणापछि नजिकिएका छन् । उनीहरुले मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
गत जेठमा संविधानसभाको म्याद थपको विपक्षमा रहेका कांग्रेस-मधेसवादी सहकार्य दुई साता नबित्दै भत्किएको थियो । कांग्रेसले संविधानसभाको म्याद थपको पक्षमा उभिएको र मधेसवादीलाई चौथो शक्ति मान्न तयार नभएको भन्दै मधेसवादी सहकार्य विमुख भएका थिए । कांग्रेससँग सहकार्य तोडिएको निष्कर्ष निकालेका मधेसवादी दलहरु सोमबार बिहान भने कांग्रेससँग मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् ।
‘अभ्यासकै क्रममा पनि हामीले प्रजातान्त्रिक उपलब्धी हासिल गरेका छौं,’ बैठकपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले भने, ‘अहिले मुलुकसामू गम्भीर चुनौति आएको महसुस गरेका छौं, प्रजातान्त्रिक शासन व्यवस्थाका लागि आउने दिनमा मिलेर अघि बढिन्छ ।’
मोर्चामा सत्ता गठबन्धनमा रहेको मधेसी जनअधिकार फोरमबाहेकका पाँच दल छन् । कांग्रेस-मोर्चा बैठक शान्ति प्रक्रिया र संविधान निर्माणमा दुई समूहबीचका सैद्धान्तिक विवाद मिलाउन भने केन्द्रित थिएन । स्रोतका अनुसार यो बैठक आगामी सत्ता गठबन्धन निर्माणको पहलस्वरुप कांग्रेले डाकेको हो ।
मधेसवादी र कांग्रेसबीच अझै पनि राज्यपुनर्संरचनामा विवाद छ । कांग्रेस राज्यपुनर्संरचना आयोग गठनको पक्षमा छ भने मधेसवादीहरु विपक्षमा ।
‘हामीबीच अझै पनि अस्पष्टता बाँकी नै छन्,’ कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, ‘त्यसलाई मिलाएर अघि बढ्दै जान्छौं, आजको बैठकले राष्ट्रिय सहमतिको आधार तयार भएको छ । राष्ट्रिय सहमतिको आधार तयार भएको छ ।’



