नेपालमा सुनको मूल्यमा रेकर्ड कायम , चाँदीको मूल्य स्थिर


स्थानीय बजारमा सुनको भाउमा सोमबार एकै दिन तोलामा ९ सयले बृद्धि भएर ४७ हजार ५ सय पुग्यो । यो पनि आइतबार दोश्रो पटक तोकिएको मूल्यका तुलनामा भएको बृद्धि हो । नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार विहान पहिलो पटक तोकेको मूल्यका भन्दा त सोमबार तोलामा १२ सयले बढेको हो । आइतबार दिउँसो सुनको मूल्य प्रति तोला ४६ हजार ६ सय तोकिएको थियो । आइतबार बिहान प्रतितोला ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा दिउँसो सम्म प्रति तोला ३ सय बृद्धि गरिएको थियो ।

सोमबार प्रति दश ग्राम सुनको भाउ ४० हजार ७ सय २५ पुगेको हो । स्थानीय बजारमा यस दिन तेजाबी सुन नै १० ग्रामको ४० हजार ५ सय ४५ रुपैयाँमा कारोबार भयो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा पनि सुनको भाउ उच्च दरले बढ्दै हरेक दिन जसो नयाँ रेकर्ड कायम हुँदै आएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १ हजार ६ सय ६४ डलर बराबर रहेको सुनको मूल्य सोमबार ३७ डलर बराबरले बढेर १ हजार ७ सय तीन डलरको हाराहारीमा  पुगेको छ । अघिल्लो महिनाको आजकै दिन असार २३ गतेका तुलनामा नेपाली बजारमा सुनको भाउ ५ हजार रुपैयाँ बढीले बृद्धि भएको छ । मूल्य अकाशिए संगै सुनको कारोबारमा भने उल्लेख्य गिरावट आएको व्यवसायीहरुले जनाएका छन् । अमेरिकी अर्थव्यवस्थामा आएको समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चर्किर्दै गएको संघको भनाई छ । नेपालमा भने बैंकहरुले सुन नदिएका कारण स्थानीय बजारमा थप मूल्यबृद्धिको चाप परेको भनाई व्यवसायीहरुको छ ।