




नैनपुर (सिरहा) । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएका छन् ।

विहिबार धनगढीमाई नगरपालिकास्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताए ।

उनले भने- ‘हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो ।’

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्याउने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री यादवले स्मरण गराए । उनले भने- ‘धनगढीमाईका बासिन्दाले बिगतदेखि दैनिक रूपमा भोग्दै आएको पिउने पानीको सङ्कट अन्त्य भएको छ । अब नागरिकलाई शुद्ध, सुरक्षित र नियमित पानी आपूर्ति हुने विश्वास दिलाउँछु ।’
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले खानोपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यन्वयन गरिरहेको र तराई मधेशका २८० वटा अधुरो योजनाहरु सञ्चालन गर्न नीतिगत सुधार गरि कार्यन्वयन गर्ने तयारीमा रहेको जानकारी दिए ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले धनगढीमाई नगरपालिकाको वडा नं ११,१२ र १३ निर्माण सम्पन्न भएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाले यहाँका नागरिकहरुको पानीको समस्या दीर्घकालिन रुपमा समाधान गरेको भन्दै खुशी व्यक्त गरे ।

रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का कम्तिमा पनि एक हजार ५०० घरधुरीका आठ हजार छ सय जना लाभान्वित हुनेलाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए ।



