राष्ट्रपतिद्धारा मुलुकको प्रमुख एजेण्डा शान्ति संविधानलाई छाडेर दलहरुको प्रमुख एजेण्डा सत्ता बनेकोमा चिन्ता ब्यक्त

काठमाडौं  – मुलुकको प्रमुख एजेण्डा शान्ति संविधानलाई छाडेर दलहरुको प्रमुख एजेण्डा सत्ता बनेकोप्रति राष्ट्रपति रामवरण यादवले चिन्ता ब्यक्त गरेका छन् ।

पाँच बुँदे सहमति कार्यान्वयनका लागि रिपोर्टर्स क्लबको ज्ञापन-पत्र बुझ्दै राष्ट्रपति यादवले राष्ट्रको आवश्यकता शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउँदै लोकतान्त्रिक संविधान निर्माण गर्नु भए पनि दलहरुको प्राथमिकता शान्ति र संविधान माथि सत्ता हुन पुग्दा समस्या आएको बताए । उनले सत्ता भन्दामाथि शान्ति र संविधानलाई राखेर अगाडि बढे समस्या समाधान हुने विश्वास ब्यक्त गरे ।

संविधानसभाको निर्वाचन यता गठन भएका तीन बहुमतीय सरकारले शान्ति र संविधान निर्माणमा ठोस काम गर्न नसकेको उनले उल्लेख गरे । ‘तीन वटा बहुमतीय सरकारले केही गर्न नसकेको व्यवहारले देखाइसकेको छ । सहमतिको सरकार बने मात्रै राष्ट्रले निकास पाउँछ,’ उनले भने, ‘शान्ति र संविधानको लागि सहमतिको सरकार आवश्यक छ । त्यसमा ब्यवधान खडा गर्नु हुँदैन ।’

राष्ट्रपतिले राजनीतिक दलहरुले विगतमा गरेको सहमति, अन्तरिम संविधान र पछिल्लो समयमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गरे सहमतिको सरकार बन्ने र त्यसले मात्रै राष्ट्रलाई निकास दिने दाबी गरे ।

दलहरुले शान्ति र संविधान निर्माणको कार्य समयमा सम्पन्न नगरेर समय लिदै जादा जनताले उनीहरुमाथि प्रश्न उठाउन थालेको भन्दै उनले पछिल्लो समयमा अन्र्तराष्ट्रिय समूदायले समेत राजनीतिक दलहरुको क्षमतमामाथि प्रश्न उठाउन थालेकोले यो राम्रो संकेत नभएको बताए ।

तीन दलवीचको सहमतिमात्रै राष्ट्रिय सहमति हुन नसक्ने तर्फ संकेत गर्दै उनले ठूला तीन दल र मधेसबादी दलहरुसहित चार शाक्तिवीचको सहमति आवश्यक रहेको तर्क गर्नुभयो ।

यद्यपि राष्ट्रपति यादवले बाँकी दिनमा दलहरुवीच सहमति भएर शान्ति प्रक्रियाका अगाडि बढ्ने र संविधानको पहिलो ड्राफ्ट आउने विश्वास ब्यक्त गरे ।