देशका विभिन्न सात वटा माओवादी लडाकुको शिविरको गत बैशाखसम्मको पौने ९ करोड बिद्युत महशुल बुझाइयो

चितवन – प्राप्त समाचार अनुसार काठमाडौंस्थित शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयले देशका विभिन्न सात वटा माओवादी लडाकुको शिविरको गत बैशाखसम्मको पौने ९ करोड बिद्युत महशुल केन्द्रLय विद्युत प्राधिरकणमा बुझाइएको छ।  शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयले जेठसम्मको बक्यौता महशुल बुझाएको जनाएको हो।

‘जेठ र असारको महशुल विवरण संकलन भैरहेको छ कार्यालयका लेखाअधिकृत विष्णुहरि वाग्लेले  भने सबैको संकलन भएपछि बुझाउछौ।’ शिविर व्यवस्थापनका लागि सरकारले दिएको बजेटबाट पानी, विजुली महशुल लगायतमा खर्च गरिने गरेको जानकारी उनले दिए।

चितवन्स्थित लडाकुको शक्तिखोर शिविरको पनि गत बैशाखसम्मको विद्युत महशुल बुझाइएको जानकारी स्थानीय शिविर व्यवस्थापन समितिका संयोजक शरदचन्द्र शर्माले दिए। उनका अनुसार तेस्रो डिभिजनको असारसम्मको कूल बक्यौता २ करोड ३७ लाखमध्ये बैशाखसम्मको १ करोड ९० लाख महशुल केन्द्रमार्फत् प्राधिकरणमा बुझाइएको हो। बाँकी महशुलको विवरण बिहीबारमात्र केन्द्रमा पठाइएको जानकारी उनले दिए।


शिविरमा करिब चारहजार लडाकु रहने गरेका छन्। आफुहरु बसेदेखि शिविरको विद्युत महशुल यसपाली मात्र केन्द्रबाट बुझाएको शक्तिखोर शिविरका भाइस कमाण्डर उदयबहादुर चलाउनेले बताए। ‘हामीलाई महशुल बुझाउन पैसा नै दिन्न सरकारले कसरी यहाँबाट तिर्नु’, उनले भने।


उता चौंथो डिभिजन नवलपरासीले पनि आफ्नो विद्युत महशुलको अत्यधिक रकम बुझाएको बताएको छ। शिविरले बक्यौता झण्डै एक करोडमध्येको धेरै रकम बुझाएको जनाएको छ। बाँकी रकमको विवरण केन्द्रमा पठाउने तयारी भैरहेको जनाइएको छ। अन्य शिविरहरुको विद्युत महशुल पनि केन्द्रमार्फत् नै बुझाउने तयारी भैरहेको शिविर व्यवस्थापन समन्वय कार्यालयले जनाएको छ।