काठमाडौ, भाद्र १ – काठमाडौँ जिल्लाको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिले भदौ १ गतेदेखि लागु हुने गरी काठमाडौँका संवेदनशील स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

यसैगरी प्रधानमन्त्री निवास क्षेत्र बालुवाटार, माइतीघर मण्डलादेखि सिंहदरबार पश्चिम पद्मोदय हाइस्कुल तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण प्रवेशद्वार हुँदै हनुमानथानसम्म र सिंहदरबार पश्चिम द्वारदेखि भद्रकाली मन्दिरको पूर्व दक्षिणी क्षेत्र रिपुमर्दनी पेट्रोल पम्प क्षेत्रसम्म रहेको छ ।
निषेधित क्षेत्रहरूमा नयाँ बानेश्वर चोकबाट संविधानसभा भवनको पश्चिम बाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँ बायाँ दुवै किनारा, नयाँ बानेश्वर चोकदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँबायाँ दुवै किनारासम्मको क्षेत्र तोकिएको छ।
साथै नयाँ बानेश्वर चोकदेखि शङ्खमूल जाने सडकतर्फ ५० मिटरसम्म, नयाँ बानेश्वर चोकदेखि माइतीघर मण्डलातर्फ अरनिको राजमार्गको ५० मिटरसम्म र संविधानसभा भवनको पश्चिमद्वार सिधा हनुमानथानतर्फको सडकको ५० मिटरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। – रासस



