‘बहुमतीय सरकारलाई सहयोग हुँदैन’ – नागरिक अगुवा

काठमाडौं, भाद्र १ – नागरिक समाजका अगुवाहरुले प्रमुख राजनीतिक दलका नेताहरुसँग बुहमतीय नभइ सहमतीय सरकार निर्माण गर्न आग्रह गरेका छन् ।


मार्टिन चौतारीद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवाहरुले दलका नेताहरुले आपसी कलह र आन्तरिक गुटबन्दी विर्सेर सहमतीय सरकार निर्माण गर्न जोड दिएका हुन् ।


लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले बहुमतीय सरकार गठन भए त्यस्तो सकारलाई नागरिक समाजको सहयोग नरहने बताए । सरकार तथा पार्टीद्वारा प्रोत्साहन र संरक्षणप्राप्त व्यक्तिहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न उनले प्रमुख दलका नेताहरुसँग आग्रह गरे । ‘दिनप्रतिदिन अपराधिक गतिविधि बढ्दै गइरहेको छ, सरकारले तत्काल रोक्न पर्छ,’ उनले भने ।


नागरिक अगुवा सुन्दरमणि दीक्षितले सहमतीय सरकार गठन भए केही आपराधिक र अराजक गतिविधि बन्द हुने दाबी गरे । ‘समाजमा दैनिक जसो हत्या र हिंसाका समाचार सुनिँदैछन्, कम गर्न पनि सहमतीय सरकार चाहिएको छ,’ उनले भने ।


अर्का अगुवा खगेन्द्र संगौलाले बहुमतीय सरकार गठन भए बाबुराम भट्टराई  र शेरवहादुर देउवा प्रधानमन्त्री हुनेमा कुनै भिन्नता नहुने बताए । माओवादी लडाकुको समायोजन तथा पुनःव्यवस्थापनसित सम्बन्धित सबै विषय प्याकेजमा मुर्तरुपमा सहमति गरेमात्र शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुग्ने उनले दाबी गरे।