काठमाडौं – चिनिया संस्था एसिया प्यासेफिक एक्सचेन्ज को-अपरेसन फाउन्डेसन (एपेक) र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (यूनीडो) बीच कुनै सम्झौता नभएको दाबी उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले गरेका छन् ।
काठमाडौंमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा यादवले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकासको लागि ३ अर्ब अमेरिकी डलर लगानी गर्ने गरी चाइनीज संस्था एसिया प्यासेफिक एक्सचेन्ज को-अपरेसन फाउन्डेसन (एपेक) र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (यूनीडो) बीच कुनै सम्झौता नभएको दाबी गरेका हुन् ।
यादवले यूनीडोले नै विज्ञप्ति निकालेर एपेक र यूनीडोवीच लुम्बिनीमा लगानी गर्ने कुनै सम्झौता नभएकोले कसैले त्यस्तो प्रचार गरे त्यो यूनीडोको आधिकारिक धारणा नहुने स्पष्ट पारेको जानकारी दिए । उनले शुक्रवार नै यूनीडोले परराष्ट्रमन्त्रालयलाई समेत सो जानकारी सहितको आधिकारीक पत्र पठाएको बताए ।
‘यूनीडोले नै एपेकसँग लगानी गर्ने सम्झौता नभएको स्पष्ट पारिसकेपछि आजबाट एपेकको च्याप्टरनै क्लोज भएको छ,’ उनले भने, ‘यस्तो कुनै सम्झौता छैन । सबै हल्ला मात्रै हो । हल्लाको पछि लाग्नु हुँदैन ।’
संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले एपेक र यूनीडोवीच भएको भएको सम्झौताबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी नभएको भन्दै एपेकका पदाधिकारीले लुम्बिनीको भ्रमण गरेर फर्केको विषयमा पनि सरकार अनभिज्ञ रहेको बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले मलेसियामा भएको एपेकको बैठकबाट फर्कंदा सँगै लिएर आएका थिए । दाहाल संस्थाको उपाध्यक्ष हुन् ।
लुम्बिनीमा लगानी गर्ने विषयमा मन्त्रालयले छानविन गरिरहेको जानकारी दिँदै मन्त्री प्रसाईंले एपेक हङकङमा दर्ता भएको सम्मको जानकारी मन्त्रालयसँग रहेको बताए ।
पूर्व संस्कृति मन्त्री मिनेन्द्र रिजालले एपेक र युनेस्कोवीच सम्झौता नभएर यूनीडोवीच सम्झौता भएको विषयले आशंका उब्जाएको भन्दै लुम्बिनीलाई विक्री वा राजनीतिको साधन बनाउन नहुने तर्क गरे । उनले राष्ट्रलाई नै गुमराहमा राखेर गरिएको लगानीको सम्झौता मुलुकको सार्वभौम सत्तामाथिको आक्रमण भएको आरोप लगाए ।
माओवादी अध्यक्ष दाहाल र पूर्व यूवराज पारस शाह उपाध्यक्ष रहेको सो संस्थाको लगानी हल्लाबारे नेपालमा अविश्वास ब्यक्त भइरहँदा दाहालले नै विश्वास गर्न आग्रह गरेका थिए ।



