राष्ट्रपति यादवद्धारा दलहरुबीच सहमति नभइरहेकोमा चिन्ता व्यक्त

काठमाडौ – सहमतीय सरकार निर्माणका लागि दिएको समय भोलि(आइतबार)सम्म मात्र बाँकी रहँदा सहमतीय सरकार निर्माणका विषयमा भइरहेको प्रयास बारे राष्ट्रपति डा.रामवरण यादवले चासो राखेका छन् । राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री झलनाथ खनालसंग यादवले दलहरुबीच सहमति नभइरहेकोमा चिन्ता व्यक्त गरेका थिए । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा आइतबार-भोलि) सकिदैंछ ।

भेटमा प्रधानमन्त्री खनालले सरकार निर्माणका विषयमा भइरहेको प्रयास बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । ‘सहमतीय सरकार निर्माणका लागि भइरहेको प्रगतिबारे राष्ट्रपतिज्यूले चासो राख्नुभयो र चिन्ता व्यक्त गर्नुभयो,’भेटपछि खनालले भने-‘सहमतीय सरकार विपरीत अन्यथा ढंगले कसैले सोच्छ भने त्यो राष्ट्रिय हित विपरीत हुनेछ ।’

खनालले साउन २९ गते राजीनामा दिएका थिए । उनको राजीनामापछि सहमतीय सरकार निर्माणका लागि दलहरुबीच छलफल भइरहेपनि निष्कर्ष केही निस्केको छैन । माओवादीले बाबुराम भट्टराई र कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्रीकालागि प्रस्ताव गरेको छ ।