
शनिबार दलहरु आन्तरिक तथा बाह्य छलफलमा व्यस्त देखिएका छन् । माओवादी र एमालेको स्थायी समिति बैठक बसेको छ भने कांग्रेसले साना दलहरुसंग छलफल गरेको छ ।
माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन शान्ति प्रक्रियाप्रति थप लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको छ । स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस,एमाले र मधेशी मोर्चासंग भएको वार्ताबारे जानकारी गराएका थिए । बैठकमा शान्ति प्रक्रिया र सरकार निर्माणका विषयमा छलफल भएको प्रवक्ता दीनानाथ शर्माले बताए । उनले केन्द्रीय समितिले दिएको म्याण्डेट भित्र रहेर शान्ति प्रक्रियाका विषयमा थप लचिलो भएर प्रस्तुत हुने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, पार्टी मुख्यालय बल्खुमा बसेको एमाले स्थायी समिति बैठकले सहमतीय सरकार गठनपूर्व शान्ति प्रक्रियाका विषयमा ठोस सहमति हुनुपर्ने निर्णय गरेको छ । एमालेले प्रधानमन्त्रीका दावेदार माओवादी र कांग्रेसले आफ्नो स्पष्ट रोडम्याप ल्याउनुपर्ने पनि भनेको छ । पार्टी सचिव शंकर पोखरेलले दुई दलको रोडम्याप हेरेर थप निर्णय लिइने बताए । उनले भने-‘आज र भोलि यसै विषयमा दलहरुसंग छलफल केन्द्रीत रहनेछ ।’
यता,कांग्रेसले आफ्ना उम्मेदवार शेरबहादुर देउवाको पक्षमा सहमति जुटाउन साना दलहरुसंग छलफल गरेको छ । कांग्रेसले साना दलहरुलाई आफ्नो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा साना दलहरुले सकारात्मक प्रतिक्रिया दिएको छ । साना दलहरुले शान्ति प्रक्रियामा माओवादी इमानदार नभएसम्म उसलाई सघाउन नसकिने बताएको छ ।



