रौतहट – बहुदलीय व्यवस्थाको बेलामा राजालाई शासन सुम्पेको आरोप लागेका कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा जनताले स्वीकार्न नसक्ने दावी भौतिक तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले गरेका छन् । जनताले इतिहासले शंकाको घेरमा राखेका देउवा भन्दा वर्तमान अवस्थामा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको रुपमा रुचाएकोले उनैलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिनु पर्न धारणा राखेका छन् ।
शनिबार रौतहटको बिश्रामपुर गाविसको चाँदी खोलमा निर्माण हुन लागेको पुलको शिल्यान्यास गर्न आएका मन्त्री रायमाझीले देउवालाई बहुदलीय व्यवस्थाका बेला दाग लागेकाले सरकारको नेतृत्व दिंदा जनताको भावना विपरित हुने बताए । उनले वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकार बनाउन लागि परेको समेत दावी गरेका छन् ।
कान्तिपुर एफ एमले गरेको मत सर्बेक्षणमा समेत ८९ प्रतिशत जनताले भट्टराईलाई प्रधानमन्त्रीको लागि रुचाएको बताउँदै मन्त्री रायमाझीले जनताको मतको कदर गर्नु राम्रो हुने जिकिर गरे ।
पुल शिल्यान्यासको लागि संगै आएका कानुन मन्त्री प्रभु साहले शान्ति र संविधान अहिलेको मुल समस्या भएकाले सबै मिलेर पुरा गर्नुपर्ने बताए । देशमा जबसम्म शान्ति र संविधान निर्माण हुँदैन तबसम्म कुनै पनि नयाँ काम गर्न सकिंदैन मन्त्री साहले भने ‘त्यसको लागी सबै दलहरुको सहकार्य जरुरी छ ।’
कटहरिया गाविसमा बन्न लागेको पुल मन्त्री साहको पहलमा बजेट निकास भएको हो । उनले राष्ट्रिय सहमितको सरकार निर्माणको लागि पहल भइरहेको र सकेसम्म सहमति हुने दावी गरे । उनले हालको अवस्थामा भट्टराईको नेतृत्वको सरकार आवश्यक रहेको बताए ।



