नागरिक पत्रिका र युवा संघबीच लडाई जारी, हिसाबकिताब खोजिने: युवा संघका महेश वस्नेत

युवा संघका अध्यक्ष महेश वस्नेतले केहीदिन अघिको विराटनगर घटना र आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीबाट हुने अनुसन्धानमा सहयोग गर्न र दोषी देखिए सजाय भोग्न आफू तयार रहेको बताएका छन ।

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने योजनाकार भनिएका पर्शुराम बस्नेतलाई संरक्षण गरेको आरोप लागेका बस्नेतले विराटनगर सभामा नागरिक पत्रिका बन्द गर्ने र त्यसका सम्पादकलाई जेल हाल्ने अभिव्यक्ति दिएको प्रसंगमा पार्टी अनुशासन आयोगले प्रश्न उठाएको छ ।

प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष बस्नेतले आफुले नागरिक पत्रिकाविरुद्ध अभिव्यक्ति दिएको सत्य भएको तर सोही पत्रिकामा प्रकाशन भएजस्तो गरी भने नभनेको दावी गरे । पत्रिकाले सबैलाई प्रश्न गर्न मिल्छ भने पत्रिकाको बारेमा प्रश्न गर्न किन नमिल्ने रु उनको प्रश्न थियो ।

उनले नागरिक पत्रिका र युवा संघबीच लडाई जारी रहने बताउदै कानुन बलियो भएको दिन नागरिक पत्रिकासँग हिसाबकिताब खोजिने बताए । अध्यक्ष बस्नेतले युनिटि प्रकरणमा नागरिक पत्रिकाले २ करोड रुपैयाँ युनिटिसँग मागेको तर नपाएपछि भण्डाफोर गरेको आरोप पनि लगाए ।

उनले पत्रकार महासंघ र प्रेस जगतले पत्रकार आक्रमणका अरु घटनालाई बेवास्ता गरेको तर यो घटनालाई भने अनावश्यक रुपमा उछालेको गुनासो पनि गरे ।