राष्ट्रसंघीय महासचिवका विशेषदूत स्यामुअल टाम्राटद्धारा उच्च राजनीतिक भेटघाटलाई निरन्तरता

काठमाडौ – राष्ट्रसंघीय महासचिव वान की मुनका विशेषदूत स्यामुअल टाम्राटले आइतबार पनि उच्च राजनीतिक भेटघाटलाई  निरन्तरता दिएका छन् ।

शान्ति  प्रक्रिया र संविधान निर्माणमा दलहरुबीच भएको प्रगति बुझ्न नेपाल आएका टाम्राटले कांग्रेस सभापति सुशील कोइरालालाई आइतबार भेट गरेका छन् । भेटमा उनले शान्ति प्रक्रिया र संविधान निर्माणमा चासो  राखेका थिए  ।  यस्तै टाम्राटले आइतबार अपरान्ह्र २ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् ।

पाँच दिने भ्रमणका लागि नेपाल आएका टाम्राटले शनिबार प्रधानमन्त्री झलनाथ खनालसँग भेटर शान्ति प्रक्रिया र संविधानका लागि जस्तोसुकै सहयोग गर्न राष्ट्रसंघ  तयार रहेको भन्दै दलहरुबीच समझदारी कायम हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल बसाइका क्रममा टाम्राटले माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत सरकारका केही मन्त्रीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।