




पोखरा । मुस्ताङको चुम्जुङ खोला ( छुआमा खोला समेत भनिने) मा नेपाल चीन सिमाक्षेत्र तर्फबाट अचानक बाढी आउदा ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बाढीले २ वटा पक्की पुलमा क्षति पुर्याएको छ ।

त्यस्तै लोमान्थाङ गाउँपालिका-१ १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रशासनले उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन र बाढीको जोखिम बढेमा तोकिएका सुरक्षित स्थानमा गई बस्न स्थानीय प्रहरी, स्थानीय विपद् सूचक तथा उद्धारकर्ता, जनप्रतिनिधी र यस सूचना मार्फत जानकारी गराएको छ ।

साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालित रहेका र हाल बाढीको बहाव घट्दै गएको साथै कालीगण्डकी कोरिडर अन्तर्गत लोमान्थाङ -कोरला सडक खण्ड सुचारु रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।



