काठमाडौ – राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको तीन दिनको समय सीमा बुधबार ५ बजे सकिएको छ । तीन दिनको अवधिमा पनि दलहरुबीच सहमतीय सरकार निर्माणको वातावरण बन्न सकेन । मुलुक फेरि बहुमतीय सरकार निर्माणकै दिशामा अग्रसर भएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले साउन २९ गते राजीनामा दिएपछि राष्ट्रपति डा.रामवरण यादवले संवैधानिक व्यवस्था अनुसार भाद्र ४ गतेसम्मका लागि सहमतीय सरकार निर्माणका लागि दलहरुलाई समय दिएका थिए । दलहरुकै आग्रहमा राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि तीन दिनको समय थप गरेका थिए ।
दल र तीनका नेताहरुले सहमतीय सरकारको रट लगाएपनि त्यसमा सहमति जुटाउन सकेन । माओवादीले आफ्ना उपाध्यक्ष बाबुराम भट्टराई र कांग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्तावित गरेको छ ।
शान्ति प्रक्रिया नटुङ्गएिसम्म वा माओवादीले शान्ति प्रक्रिया टुङ्गयाउन ठोस आधार ल्याएर विश्वासको वातावरण नबनाएसम्म उसको नेतृत्वमा सरकार बनाउन नसकिने कांग्रेस,एमाले र केही अन्य दलले धारणा राख्दै आएको छ । तर,कांग्रेस उम्मेदवार देउवाको पक्षमा पनि दलहरुले समर्थन गरिसकेको छैन । निर्णायक मानिएका एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भट्टराई वा देउवाको पक्षमा खुलेका छैनन् ।
सहमतीय सरकार निर्माणको समयसीमा सकिएपछि राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आव्हान हुनेछ । बहुमतीयमा माओवादीबाट भट्टराई नै उम्मेदवार हुनेछन् भने कांग्रेसबाट देउवा वा रामचन्द्र पौडेल त्यसमा विवाद कायम छ । एमालेले दावी नगर्ने बताइसकेको छ ।



